२ माघ २०८१, बुधवार

मेचीनगरमा मानव सेवा आश्रम सञ्चालन, २१ जनालाई आश्रय

१० भदौ २०८१, सोमवार
Image

झापा, १० भदौ । मानव सेवा आश्रमले मेचीनगर नगरपालिकाको वडा नं. ४ आमडाँगीमा असहायहरुलाई सडकबाट उद्धार गरेर पालनपोषण गर्ने आश्रम सञ्चालन गरेको छ । आश्रमको निर्माणमा रु. एक करोड खर्च भएको छ ।

आश्रममा हाल २१ जना घरपरिवारविहीन सहयोगापेक्षी र सडक मानवहरुले आश्रय पाइरहेको आश्रमका सञ्चालक होमनाथ तिम्सिनाले बताउनुभयो । आश्रम स्थापनाका लागि स्थानीय रामबहादुर प्रधान र लक्ष्मी प्रधानले रु. चार करोड मूल्यको आफ्नै सम्पूर्ण दुई बिगाहा १० कठ्ठा जग्गा दान गर्नु भएको थियो ।

सोही जग्गामा हाल ५० जना अट्ने क्षमताको आवास, भान्सा, शौचालय र आवश्यक पूर्वाधार निर्माण भएको तिम्सिनाले जानकारी दिनुभयो । यसलाई निकट भविष्यमा विस्तार गरेर २०० जना अटाउने पूर्वाधार निर्माणको योजना भइरहेको उहाँले बताउनुभयो ।

हेटौडामा प्रधान कार्यालय रहेको मानव सेवा आश्रमको देशभर २३ वटा शाखा आश्रम सञ्चालनमा छन् । जसमध्ये यो कान्छो आश्रमको सञ्चालन र पूर्वाधार निर्माणका लागि मेचीनगर नगरपालिकाले आर्थिक सहयोग पुर्याइरहेको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । 

नगरप्रमुख बुढाथोकीकै नेतृत्वमा हालै तीन जनाको उद्धार गरेर आश्रममा राखिएको छ । मेचीनगरका कृष्ण राजबंशी, इलामका तुलसी गौतम र ठेगाना नखुलेका चतुर्धन मिश्रालाई सडकबाट वेवारिसे अवस्थामा उद्धार गरिएको हो ।

“सडकमा कसैले पनि बास बस्नु नपरोस् र भोको पेट कोही पनि रहनु नपरोस् भनेर मानव सेवा आश्रमको मेचीनगर शाखा स्थापना र सञ्चालनमा नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो,” नगरप्रमुख बुढाथोकीले भन्नुभयो–“भवन लगायतका पूर्वाधार निर्माणमा पहिलो वर्ष नगरपालिकाले रु. २५ लाख बजेट बिनियोजन गर्यो । यस वर्षको बजेटमा पनि रु. १० लाख छुट्याएका छौं ।”

छिमेकी पालिकाहरु कनकाई, बुद्धशान्ति, भद्रपुर, विर्तामोड र अर्जुनधाराले पनि आश्रमको सञ्चालन र विस्तारमा बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो । आश्रममा झापा, इलाम, पाँचथर र ताप्लेजुङमा रहेका सडक मानव र सहयोगापेक्षीहरुलाई उद्धार गरेर राखिने भएको छ । 

देशभर सयौलाई आश्रय

वि.सं. २०७३ सालमा सबैका लागि खाना र नाना भन्ने उद्घोषका साथ दर्ता भएको मानव सेवा आश्रमको १९ जिल्लामा २३ वटा आश्रम सञ्चालनमा रहेका छन् । यसको संस्थापक रामजी अधिकारी हुनुहुन्छ ।

मानव सेवा प्रवर्धनको मूल उद्देश्य लिएको संस्थाले हाल देशभरका आश्रममा एक हजार ७१७ जना असहाय सडक मानव तथा सहयोगापेक्षीहरुलाई पालनपोषण गरिरहेको छ । जसमा महिला ७४० र पुरुष ९७७ जना रहेका छन् ।

हालसम्म मानव सेवा आश्रमले १० हजार २१८ जनाको उद्धार, चार हजार ३० जनाको पारिवारिक पुनर्मिलन र ८४८ जनाको सामुदायिक पुनस्र्थापना गरिसकेको जनाएको छ ।