२३ भदौ २०८१, आइतवार

मेचीनगर–२ ले बुझायो विद्युत प्राधिकरणलाई २१ बुँदे ध्यानाकर्षण पत्र

१२ भदौ २०८१, बुधवार
Image

मेचीनगर, १२ भदौ । विद्युतका पुराना पोल र लत्रिएका तारहरुको जोखिमबाट मुक्त गराउन मेचीनगर नगरपालिका–२ का बासिन्दाले नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएका छन् । 

वडा नम्बर २ का अध्यक्ष दीपक बरालको नेतृत्वमा आएका टोल विकास संस्थाका अध्यक्षसहित स्थानीयवासीले कार्यालयमै पुगेर २१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुधबार कार्यालय प्रमुख माधवप्रसाद यादवलाई बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा भृकटी चोकमा पोल होचो भएका कारण सवारी आवतजावतमा समस्याका साथै पोल विस्तार गर्नुपर्ने, पन्चकन्या टोल दक्षिणका १० वटा पोल स्थान्तरण गर्नुका साथै १० पोलको विस्तार गर्नुपर्ने,मलामी घरमा तार विस्तार गर्नुपर्ने, विभिन्न स्थानमा लड्न लागेका पोल फेर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ । 

‘पुराना पोलहरु फेर्नु पर्ने अवस्था छ,’ ध्यानाकर्षण पत्र बुझाउँदै वडा अध्यक्ष बरालले भन्नुभयो, ‘जुनसकै बेला दुर्घटना हुने खतरा छ यसको समाधानको पहल गरिदिनु पर्यो ।” 

ध्यानाकर्षण पत्र बुझ्दै विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका प्रमुख माधव प्रसाद यादवले जोखिम भएका क्षेत्रको काम तत्काल गरेर समस्या समधान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तत्काल प्राविधिक पठाएर पोल सार्ने र थप गर्ने स्थानको अध्ययन गर्ने बताउनुभयो । 

मेचीनगर २ का ३१ वटा टोलविकास संस्थामध्ये अधिकाश टोलका अध्यक्ष सहित वडा अध्यक्ष बराल धुलाबारी वितरण केन्द्रको कार्यालय आउनुभएको हो ।