३ असोज २०८१, बिहिवार

आमा भेट्न ओमान उडे सञ्जय

२३ भदौ २०८१, आइतवार
Image

धुलाबारी, २३ भदौ । वैदेशिक रोजगारीको क्रममा ओमानमा जाँदा बिरामी भएर एक वर्षदेखि अस्पतालमा रहनु भएकी मेचीनगर–१० की ४५ वर्षीया आमा बिनादेवी कँवरलाई भेट्न उहाँका छोरा सञ्जय कँवर आज ओमान जानु भएको छ ।

आज विहान एयर अरेबियाको जहाज चढेर सञ्जय कँवर आमा भेट्न ओमान उडेको उहाँको ओमान यात्राको चाँजोपाँजो मिलाउनु भएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

ओमानको सुल्तान कबुस नामक सरकारी अस्पतालमा बिनादेवी एक वर्षदेखि अचेत अवस्थामा उपचाररत् हुनुहुन्छ । छोरा सञ्जयले अस्पताल पुगेर आफ्नी आमालाई भेटेरै स्वास्थ्य अवस्था बुझ्न पाउने भएका छन् ।

ओमानस्थित नेपाली दूतावासका अधिकारीहरुसँग सांसद् समेत रहनु भएको शर्माले सम्पर्क गरी आमा र छोराको पुनर्मिलनको व्यवस्था मिलाउनु भएको हो । नाजुक स्वास्थ्य अवस्थाका कारण बिनादेवीलाई नेपाल ल्याउन नसकिने अवस्था रहेको दूताबासले जनाउँदै आएको छ ।

सञ्जय कँवरका लागि हुने जहाज टिकट र ओमानमा रहँदा लाग्ने खाने र बस्ने खर्चको जोहो ओमानस्थित नेपाली राजदूताबास र गैरआवासीय नेपाली संघले मिलाउने भएको सांसद् शर्माले जानकारी दिनुभयो । 

काठमडौंबाट सञ्जयलाई जहाजमा उडाउन नेपाली काँग्रेस झापा–१ काठमाडौ सम्पर्क समितिका सभापति प्रज्ज्वल कोइराला र नेविसंघ झापा काठमाडौ सम्पर्क समितिका सभापति चोलेन्द्र दाहाल त्रिभुवन विमानस्थल जानु भएको थियो ।