३ असोज २०८१, बिहिवार

वाणिज्य संघको ‘एक करोडको राहत कोष’मा जुट्न थाल्यो सहयोग

२३ भदौ २०८१, आइतवार
Image

झापा, २३ भदौ । विपद्मा परेका बेला व्यवसायीलाई आर्थिक राहत पुर्याउन विर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘सदस्य राहत कोष’मा दाताबाट स्वेच्छिक सहयोग जुट्न थालेको छ ।

संघमा पाँच हजार ६६२ जना सदस्य आवद्ध छन् । कुनै पनि भैपरिआउने आपतविपद्का बेला तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संस्थाले रु. एक करोडको अक्षयकोष बनाउने गत जेठमा निर्णय गरेको संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।

व्यवसायीको हितमा राहत कोष स्थापना गर्नु राम्रो भएको जनाउँदै संघका सदस्य समेत रहनु भएको व्यवसायी पर्वत कार्कीले कोषमा रु. एक लाख ११ हजार १११ जम्मा गरेको बताउनुभयो ।

“सहज अवस्थामा सबै आफ्नै ढंगले चलिरहेका हुन्छन्, तर विपद् निम्तिएका बेला तत्काल सहयोग जरुरी हुन्छ,” कार्कीले भन्नुभयो–“कोषको अवधारणा राम्रो लाग्यो ।”

व्यवसायीहरुबाट कोषमा हालसम्म रु. आठ लाखभन्दा बढी रकम संकलन भइसकेको संघले जनाएको छ । संघमा आवद्ध सदस्य मात्र लाभग्राही हुने कोषको अवधारणा भए तापनि कोषमा सहयोग जोकोहीले गर्न सक्ने संघका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

कोषको व्यवस्थित सञ्चालनका लागि संघको कार्यसमितिले ‘व्यावसायिक सदस्य राहत कोष सञ्चालन कार्यविधि’ निर्माण गरिसकेको छ । कुन प्रक्रियाबाट राहत वितरण गर्ने भनेर कार्यविधिमा प्रष्ट व्यवस्था गरिएको छ । आगलागी, बाढी, डुबान, चोरी, लुटपाट लगायतका विपद्मा क्षति व्यहोरेका सदस्यहरुले कोषबाट राहत पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

विर्तामोड–५ मा ‘रोशनी सुज’ नामक पसल सञ्चालन गर्दै आउनु भएको जगत शर्मा तिवारीले संघको राहत कोषमा रु. २१ हजार प्रदान गरेको बताउनुभयो । “आफ्नै लागि आफैले गरेको सहयोग जस्तो हो यो,” उहाँले भन्नुभयो–“भविष्यमा विपद्का घटनाबाट जोसुकै व्यवसायीको पनि क्षति हुनसक्छ । त्यसबेला तुरुन्त राहत दिनका लागि कोष स्थापना भएकोमा खुशी लागेको छ ।”

राहत कोषको अवधारणा अघि सारिएपछि व्यवसायीहरु रकम सहयोग गर्न इच्छुक हुनुभएको संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले बताउनुभयो । कोषका विषयमा सदस्यबीच जागरण ल्याउन संघले अभियान सञ्चालन गर्ने सोच बनाइरहेको उहाँले जानकारी दिनुभयो । 

“कार्यालयमै आएर कतिपयले सहयोग रकम दिइरहनु भएको छ,”, वरिष्ठ उपाध्यक्ष घिमिरेले भन्नुभयो–“पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरु यतिबेला कोष बन्ने कुराले उत्साही हुनुुहुन्छ । सबैले अलिअलि सहयोग गर्ने अवस्था आयो भने कोषमा रु. एक करोड पुग्नु ठूलो कुरा हुँदैन ।”