३ असोज २०८१, बिहिवार

गर्भिणी गाई काटेको अभियोगमा भूटानी शरणार्थीसहित चार पक्राउ

२६ भदौ २०८१, बुधवार
Image

झापा, २६ भदौ  दमक नगरपालिका वडा नं. १ मा गर्भिणी गाई गोठबाट चोरेर मारेको अभियोगमा तीन जना भूटानी शरणार्थीसहित चार व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार दमक–२ का लछुमन बिष्टको गोठमा बाँधेको गाईलाई एक सय मिटर टाढा लगेर चार जना अभियुक्तले गत भदौ १८ गते राति काटेका थिए । उनीहरुले गाई को मासु लगेर करङसहित शरीरको भाग प्लटिङको जग्गामा छाडेका थिए ।

पक्राउ परेका अभियुक्तहरुमा दमक–२ स्थित बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरको क्याम्प नं. २ को छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर विष्ट, शरणार्थी शिविरको क्याम्प नं. ३ को छाप्रो नं. एथ्री २०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, क्याम्प नं. ३ को छाप्रो नं. एटु १२० बस्ने ३२ वर्षीय बिधान थापा र दमक–४ बस्ने ४५ वर्षीया गीता श्रेष्ठ रहेका छन् । 

प्रहरीले चारै जना अभियुक्तलाई सार्वजनिक गरेको छ । पशुपंक्षी सम्बन्धी कसुरमा उनीहरुमाथि कानूनी कार्वाही भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तमध्ये भूटानी शरणार्थी दुलाल यसअघि जबर्जस्ती करणी र पशुपंक्षी सम्बन्धी कसुरमा मुद्धा दर्ता भई कानूनी कार्वाही भएको, अर्का अभियुक्त बिष्ट चोरी, डकैती र सार्वजनिक अपराधको मुद्धामा कार्वाही भोगिसकेको र अभियुक्त थापा सार्वजनिक अपराधमा सजाय भोगिसकेको व्यक्ति भएको सूचना अधिकारी चन्दले बताउनुभयो ।

गाई काटेको घटना सार्वजनिक भए लगत्तै प्रहरीले अभियुक्तहरुको खोजतलास सुरु गरेको थियो । अभियुक्तहरुको कोठाबाट गाई काट्न प्रयोग भएको खुकुरी, बञ्चरो र मासु बोक्ने झोला प्रहरीले बरामद गरेको थियो । घटना पश्चात फरार रहेका अभियुक्तहरु प्रहरीको खोजतलासपछि पक्राउ परेका थिए ।