३ असोज २०८१, बिहिवार

बुद्धशान्तिमा कृषिबजार भाडामा लिन कोही आएनन्

२९ भदौ २०८१, शनिवार
Image

झापा, २९ भदौ । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलाको किनारमा रु. डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको सब्जीमण्डी (कृषि बजार) अलपत्र परेको छ । तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर रहेको स्थानमा सब्जीमण्डी निर्माण गरिएको हो ।

संघीय सरकारको रु. एक करोड ६८ लाखमा दुई वर्षअघि निर्माण गरिएको सब्जीमण्डी हालसम्म सञ्चालनमा नआएपछि अलपत्र परेको हो । सब्जी मण्डीका लागि १२ वटा सटरसहितको कोठा, एउटा मण्डी, घेराबेरा र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले सब्जीमण्डी सञ्चालनका लागि पटकपटक सूचना प्रकाशित गर्दा समेत कोही भाडामा लिन नआएपछि समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको ठूलो लगानी खेर गइरहेको छ, यसलाई प्रयोगमा ल्याउन पालिकाले ठेक्का लगाउन धेरैपटक सटरको सस्तो मूल्य राखेर सूचना प्रकाशित गरिसक्यो । भाडामा लिन कोही आउँदैनन् ।” 

उहाँले अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा सो सब्जीमण्डी निर्माण भएको बताउनुभयो । उहाँले स्थानीय संघसंस्था, बजार व्यवस्थापन समिति, सहकारीहरुलाई सो स्थान सञ्चालनका लागि सूचनामा प्रकाशित गरेको मूल्य भन्दा २५ प्रतिशत छुटमा दिने पालिकाकाले निर्णय गर्दा समेत सञ्चालन हुन नसकेको बताउनुभयो । 

भूटानी शरणार्थीहरुलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलक आप्रवासनमा लगेपछि खाली रहेको जग्गा मध्ये करिब एक विगाह जमिनमा सब्जीमण्डी सञ्चालनका लागि घेराबारासहितको पक्की संरचना निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिका तरकारी उत्पादनका लागि जिल्लामै अग्रणी मानिन्छ । यहाँ उत्पादित तरकारी मेचीनगर, विर्तामोड र दमकलगायतका शहरहरुमा विक्री हुने गरेको छ । 

संघीय सरकारले बजारीकरणका लागि उक्त स्थानमा आर्थिक वर्ष २०७६÷०७७ देखि सब्जी मण्डी निर्माण कार्य अगाडि बढाएको थियो । पालिका अध्यक्ष प्रसाईका अनुसार सब्जी मण्डी योजनामा हालसम्म आर्थिक वर्ष २०७६÷०७७ र ०७७÷०७८ मा रु. एक करोड २० लाख ३२ हजार रकम खर्च भएको र आ.व. २०७८÷०७९ मा रु.४७ लाख ७८ हजार रकम गरी कूल रु. एक करोड ६८ लाख १० हजार रकम खर्च भएको छ । 

अध्यक्ष प्रसाईले यति ठूलो लगानी खेर जान नदिनका लागि प्रति सटर मासिक रु. आठ सय मूल्यमा भाडामा लगाउन पालिका तयार रहेको बताउनुभयो । उहाँले सो स्थानमा चिस्यान केन्द्र निर्माणका लागि समेत गत बर्ष बजेट आएको बताउनुभयो । “सब्जी मण्डी भाडामा लगाउन सकिएको छैन । यहाँ चिस्यान केन्द्र बनाउँदा राज्यको लगानी खेर जान्छ भनेर बजेट नै फिर्ता गरिदिऔं”, उहाँले भन्नुभयो, “यहाँ एउटा पसल छैन, बजार लगाउन सकिएको छैन अनि किन चिस्यान केन्द्रको नाममा सरकारको फेरि करोडौ लगानी गर्नु भन्ने लाग्यो ।”

सब्जीमण्डी भाडामा लगाउन पालिकाले लामो समयदेखि प्रयास गरिरहेको र यस बर्ष लगाउने नै उहाँको दाबी छ । स्थानीयवासीले भने जनप्रतिनिधिहरुको उदासिनताका कारण सब्जीमण्डी सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् ।