१० मंसिर २०८१, सोमवार

निडर अग्रज नेतृ 'माया दिदी'को निधन

९ असोज २०८१, बुधवार
Image

मेचीनगर, १० असोज । झापाकी साहसी अग्रज महिला नेतृ माया गुरुङको निधन भएको छ । मंगलवार राति विर्तासिटी हस्पिटलमा उपचारको क्रममा उहाँको ८१ वर्षको उमेरमा निधन भएको उहाँको छोरा राजेश गुरुङले जानकारी दिनुभयो । मेचीनगर वडा नं. १० निवासी उहाँका एक छोरा र सात छोरी छन् । शिक्षिकाको रुपमा सामाजिक सेवामा प्रवेश गर्नुभएको उहाँ तत्कालीन धुलाबारी गाउँ पञ्चायतको २०२९ सालमा उपप्रधानपञ्च र २०३६ सालमा प्रधानपञ्च हुनुहुन्थ्यो । तेह्रथुमको केबुङ भन्ने स्थानमा जन्मनु भएकी उहाँको वुवा शेरबहादुर गुरुङ बेलायती सेनामा बर्मामा कार्यरत हुनुहुन्थ्यो । उहाँ आमा हस्तमाया गुरुङ र वुवा शेरबहादुरसँगै बर्मा जानुभयो । बर्मामै उहाँले मेट्रिक तहको शिक्षा प्राप्त गर्नुभयो । सानैदेखि कसैसँग नडराउने उहाँको हक्की स्वभाव राजनीति र सामाजिक क्षेत्रमा जीवनको अन्तिम क्षणसम्म कायमै रह्यो । आदरभावका साथ माया दिदी भनेर उहाँलाई सबैले सम्बोधन गर्दथे । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य, नेपाल आदिवासी जनजाति महिला महासंघको अध्यक्ष, मखमली महिला विकास संस्थाको अध्यक्ष लगायतका दर्जनौं संस्थामा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । पञ्चायतकाल होस् वा गणतन्त्रकाल, उहाँ शासक, प्रशासक र राजकीय नेतृत्वसँग आफ्ना कुरा निडर भएर राख्नु हुन्थ्यो । महिलामाथि हुने गरेका हिंसा र अन्यायको विरुद्ध उहाँ सतिसाल झैं उभिनुहुन्थ्यो । कडा बोली र प्रष्ट विचार थियो उहाँको । अन्त्येष्टिका लागि अमेरिकाबाट एउटी छोरी आइपुग्न बाँकी भएको कारण उहाँको पार्थिक शरीर राखिएको छ । छोरी आइपुगेपछि मात्र उहाँको अन्त्येष्टि गरिने बताइएको छ ।