सञ्जय मिश्रा, रौतहट । गत बिहिबारदेखि परेको अबिरल बर्षासंगै सनिवार रौतहटस्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा ३५५ घर डुबानमा परेका छन् ।
पुर्वमा बागमती पश्चिम लालबकैया नदीसंगै चाँदी, धनसार, तरहारी, लगायतको नदीमा आएको बाढी संगै जिल्लाको कैयौँ स्थानमा नदीको बाँध फुटेर उक्त संख्यामा घरहरू डुबानमा परेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् ।
जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका ६ , दुर्गा भगवती ३ गढीमाई ३ स्थित बागमती नदीको बाँध फुटेर सनिवार एकदर्जन बढी गाउँमा पानी पसेको थियो ।
दुर्गा भगवती ३ मत्सरी बदहरवा स्थित घरमा पानी पसेपछि ११९ परिवारलाई प्रहरीले उद्धार गरी धर्मशालामा र गंगा पिपरा स्थित १०० घरमा पानी पसेपछि उनीहरुलाई सुरक्षित विद्यालयमा राखिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
अबिरल बाढी र बर्षाको पानीले डुबानमा परेर प्रहरी चौकी, बेलाबिछावा, प्रहरी चौकी ब्रहमपुरी बसन्तपुर र प्रहरी चौकी वडहरवा बिस्थापित भएको थियो ।
अबिरल बर्षा र बाढीको कारण बागमती र लालबकैया नदीको केही ठाउँमा बाँध फुट्नुका साथै झण्डै १ दर्जन स्थानमा क्षति भएको छ ।
अबिरल बर्षा र बाढीमा राहत तथा उद्धारको लागि जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरे सहित १०४ जनाको टोली परिचालन गरिएको बताईएको छ । त्यस्तै २७५ जनाको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ बहें १५० जना नेपाली सेना परिचालन गरिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज पनि बिहानै देखि संयुक्त सुरक्षा टोली जिल्लाको बिभिन्न स्थानमा राहत तथा उद्धारको लागि परिचालन गरिएको जानकारी दिएका छन् ।