दशैँ कस्तो आउदै छ? राम्रै आयो तर पैला जस्तो छैन.....सरदर ३० वर्षभन्दा उकालो चडेकाहरुले यस्तै गफ–गाफ गरिरहेको सुनिन्छ।म सुन्छु अनि सोच्छु मात्र.. पैला? कति पैला? नयाँ नाना किन्दिनु भन्दा किनिदिने मान्छे हुँदा जस्तो कि आज चिचि खाने भन्दा कसरी हुन्छ जुटाइदिने मान्छे हुँदा जस्तो?
खै थाहा छैन कति पैला कति अनि कस्तो रमाइलो हुन्थियो, तर पहिले मैले थाहा पाएको समयहरु भन्दा आजभोलि अझ धेरै माइक्रोफोनहरुमा मान्छेहरु कराएको जस्तो लाग्छ। माइक्रोफोन होइन लाउडस्पिकरहरु बज्छन् अनि यसरी बज्छन मानौ विरामीहरु भजन सुनेर ठिक हुनेछन्। मानौ परिक्षाको पर्खाइमा रहेका विध्यार्थीहरु भजन कण्ठ गर्दै नाचेर पास हुनेछन्। सञ्चारमाध्यमको बृहत्तर विकास र पहुचँले पनि हुनसक्छ उल्लेख्य संख्यामा अपराधका घटनाहरु दैनिक जसो सुनिन्छन् जस्को दोब्बर अनुपातमा पुराण, महायज्ञहरु जस्ता धार्मिक कार्यक्रम चलिरहेका हुन्छन। सबै धार्मिक व्यक्तिहरु भएको यो देशमा अपराध गर्न कुन देशबाट मान्छे आउदै छन्?? अमुक धर्मको देश बनाउन बहस छेडिरहेका नेपालीहरु पक्कै अपराध गर्दैनन्।
हिजोभन्दा धेरै राम्रा देखिने कपडा बजारमा किनिन्छन्; नसुनेका मिठाई, पेयपदार्थ र खाध्यान्नहरु भित्रन्छन् र सजिलै बिक्छन्। अनि नेपालीहरुको महान चाड भनिएको यो बडादशैँमा किन न कोहि सन्तुष्ट व्यापारी, न कोहि खुसी वेतनधारी राष्ट्रसेवक न कोहि आनन्द मानिरहेका श्रमजिवीहरु भेटिन्छन्? अनुत्तरित प्रश्नहरुको उत्तर तपाईहरुसँग खोज्न आफैसँग बहस गर्दै म यहाँ शब्दहरु थप्दैछु।
बजारका बाटाहरुमा बग्रेल्ती मान्छे छन्, सिमावर्ती बजारहरुमा सहजै आवतजावत गर्न सकिदैन, सवारीसाधन राख्न पार्किङ स्थलको प्रबन्ध कतै होला तर प्रयोग नगन्य छ अनि कतै छदै छैन। न त दिशापिसाब गर्न शौचालय भेटिन्छ।मान्छेका दुवै हातले बजारमा खरिद गरेका सामाग्रीहरु बोक्न नसकिरहेको देखिन्छ तर अनुहार उज्यालो अनि मुखमा मुस्कान छैन। दिनभरी दशैँको भिडमा एकछिन फुर्सद नपाई आराम समेत नगरी व्यापार गर्नुभएको साहूजीहरुले बेलुका हिसाब गर्दा नाफा नभएको व्यथा दैनिकरुपमा कथा बन्दै छ। नाफा कमाउन गरेको व्यापारले ऋणको व्याज तिर्न गार्हो रहेको सुनिन्छ। के साँच्चै दशैँ पैला जस्तो छैन त? छैन भने किन?
हामीले पटक–पटक त्यहि सुनेर त्यहि दोहोर्याएर त हैन? मलाई चाँहि थाहा छैन। मलाई सधै खाजा खुवाउनु हुने पसलको साहुजीले किराना पसलमा भेट हुनसाथ मेरो लागी चक्लेट अर्डर गर्नुभयो। “नाई अंकल गुलियो नखाने, बरु मसँग आज पैसा छ हजुरलाई के सेवा गरौ?”, मैले प्रश्न गरे। पुराणमा पण्डित ज्यूहरुले श्रीमदभागवत महापुराणको..... भनेपछि श्रोताहरुले जय!!!! भन्दा हातको जुन अवस्था रहन्छ त्यहि बनाँउदै अंकलले, “मलाई यतिकै खुसी“, भन्नुभयो। किराना दोकानमा रहनु भएको भाईलाई मैले भनेँ, “हाम्रो अंकललाई खुसी दिनु रे, खुसी भन्ने केहि छ”? “हामी खुसी बेच्दैनौ”, भाईको उत्तर मर्मिक, रमाइलो, वजनदार, वौद्धिक जस्ता सबै शब्दलाई सुहाँउदो मलाई चाँहि लाग्यो है। “पाईँदैन रहेछ हौ किन्नलाई खुसी, अंकल आफै उत्पादन गर्नुपर्छ होला”। हामीले एकअर्कालाई हेर्यौ अनि छुट्टियौ।
घरमा समय सोध्दा भित्तामा एक्लै टिकटिक गरिरहेको घडि हामि कोहि हेर्दैनौ। भित्ता?? हातमा घडि बाँधेकाले समेत हात होइन खल्तीबाट मोबाईल झिकेरै समय बताएको मैले भोगेको छु। पत्याउनु हुन्न भने आफुहरु घरमा सबैजनाको उपस्थितीमा मेरो अनुभव जाँच गर्नुहोस। पारिवारका सदस्यहरुमा हाम्रो समय हेर्ने घडि एउटै छैन, खबर सुन्ने सञ्चारको माध्यम एउटै छैन, सुचनाको श्रोत आफ्नै–आफ्नै भेटिन्छन्।
एउटा खरायो हराएको सुचना÷खबर वा समाचार चार जना व्यक्तिले चार वटा मोबाइलको प्रयोग गरि चार वटा फरक फरक माध्यमबाट सुन्दा, हेर्दा र बुझ्दा त्यहि एउटा खरायो हराएको समाचारमा हाम्रो बुझाई फरक पर्छ वा परिन्छन् थाहा भएन तर सारमा शिर्षक मिल्दो विषयवस्तु नमिल्दो धैरै हामिले भेटेका छौ। पैला जस्तो दशैँ मात्र छैन त?
जब एउटै विषयमा फरक माध्यमबाट फरक–फरक व्यक्तिले लिने, बुझ्ने सुचना वा खबर बेग्ला–बेग्लै पाइन्छ भने त्यहाँ मत कसरी मिल्छ? घरका सदस्यहरुमा जुनैसुकै शिर्षक वा विषयवस्तुमा फरक मत रह्यो भने के हुन्छ? बहस हुन्छ, विमर्श हुन्छ र हरेक सदस्य फरक मत स्वीकार गर्न सक्ने भए जुनै विषयवस्तुमा समेत हाम्रो ज्ञान माझ्ने काम हुन्छ। नत्र माझ्ने होइन बाझ्ने, भाड्ने र लड्ने बाहेक केहि रहदैन। कार्यस्थल, समाज, राष्ट्र र समग्रमा यो पृथ्वी नै हाम्रो घर हो।
घर बडार्ने कुचोमा फोहोरमैला, धुलो टाँसिएको हुन्छ खुट्टाले किच्दा तिनै फोहोर फेरि कोठाहरुमा–ओछ्यानहरुमा पुग्छन त्यसैले टेक्न हुदैन भनेर आजका युवा व्याख्या गर्नसक्ने भएका छन्। कुचो टेकेर खुट्टा पुस्छ तर यसले किन विष्णु–विष्णु किन भन्दैन भनेर शंका मानेर बस्ने ठुलो समूह अझै समाजमा व्याप्त छ। रुचि, पहुँच र आस्था अनि विश्वास फरक पर्न गयो, यस्तै भिन्नताहरुले निम्त्याउने हरेक व्यक्तिमा रहेको चेतनालाई चिन्दै, बुझ्दै आत्मसाथ गरिएन भने आफु र आफ्नो बुझाईको दायरालाई फराकिलो बनाँउदै माझ्न सकिएन भने के होला? मनमा एउटै वाक्य आँउछ, “पैला जस्तो केहि छैन यार....”।
खुसी र सुखीमा “ख” र “स” को स्थानबाहेक शब्दको बनावटमा केहि फरक भेट्नुहुन्छ? भेटिदैन, हो फरक मात्र नभएर आफुलाई खुसी र सुखी व्यक्ति बताउने कोहि नै भेटिदैन। यहाँ न केहि सत्य छ न केहि झुटो छ।कि सबै राम्रो छ कि सबै नराम्रो छ। छुट्टयाउने आधार चाँहि के? मापदण्ड के? त्यसैले नै होला– पैला जस्तो केहि छैन यार..............