२ कार्तिक २०८१, शुक्रवार

रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो

२ कार्तिक २०८१, शुक्रवार
Image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने अड्कलबाजीका बीच पार्टी कार्यालयमा चहलपहल बढेको छ ।

सभापति लामिछाने पनि प्रतिपक्षी दलको बैठकपछि पार्टी कार्यालय बनस्थली पुगेका छन् । लामिछानेसहित काठमाडौँ मा उपलब्ध रहेका केन्द्रीय नेताहरु पनि बनस्थली पुगेको एक नेताले जानकारी दिएका छन् । नेताहरुसँगै कार्यकर्ता पनि अहिले पार्टी कार्यालय पुग्नेक्रम शुरु भएको छ ।

विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले लामिछानेलाई पक्राउ गर्नसक्ने बताएपछि उनी थप सशंकित बनेको बताइएको छ ।   

रास्वपका एक नेताले आज कार्यकर्तालाई पार्टी कार्यालयमा नबोलाइएको दाबि गरेका छन् । उनले सभापति लामिछानेले कानुन अनुसारका विषयमा सहयोग नै गरिरहेकाले कार्यकर्ता जम्मा गरेर प्रतिवाद गर्ने रणनीति नभएको स्पष्ट गरेका छन् ।

सहकारी प्रकरणमा असोज ६ मा लामिछानेकै पुर्व साझेदार छबिलाल जोशी पक्राउ परेपछि नै सरकारले लामिछानेलाई पक्राउ गर्ने हल्ला चलिरहेको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले लामिछानेलाई तत्काल पक्राउ गर्न दबाब बनाइरहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई हतारमा पक्राउ गर्न नखोजे तर कांग्रेसको दबाब बढाइरहेको बताइएको छ ।

लामिछानेलाई पक्राउ गर्न राजनीतिक नेतृत्वकै अन्तिम निर्देशन आवश्यक रहेको भन्दै प्रहरीले पनि आफुलाई तयारी अवस्थामा राखेको बुझिएको छ ।