२ कार्तिक २०८१, शुक्रवार

जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमतोमा ग्राभेल उत्खनन्

२ कार्तिक २०८१, शुक्रवार
Image

मुकेश कुमार यादव/सिरहा । सिराहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधी, प्रहरी र वन कार्यालयकै सेटिङमा निजी, आवादी तथा खोलाहरुबाट व्यापक ग्राइभेल उत्खनन् भइरहेको छ । जनप्रतिनिधी, कर्मचारी, स्थानिय प्रहरी, प्रशासन र सव डिभिजन वन कार्यालयका कर्मचारीहरुकै संलग्नतामा प्राकृतिक स्रोतको अन्धाधुन्द दोहन भइरहेकोे हो ।

नगरपालिकामा हालसम्म खानी दर्ता भएको छैन । तर, पालिकाको वडा नम्बर ८, ११, १२ र १३ बाट  ग्राइभेल माफियाहरुले जनप्रतिनिधी, कर्मचारी र स्थानिय प्रहरीसंगको आर्थिक सेटिङमा ग्राइभेल उत्खनन गर्ने गरेको स्थानियहरु बताउछन् । 

गत वुधवार धनगढीमाई नगरपालिका ८ कसहाको प्रहरीविट देखि ४ सय मिटर पर (उतर) बाट कसहा खोलामा स्काभेटर लगाएर ग्राइभेल उत्खनन् गरीरहेको अवस्थामा स्थानियले एक थान ट्रिफर र एकथान स्काभेटर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । 

प्रहरीको विट अगाडी नै अवैध रुपमा दिनदहाडै उत्खनन् गरेपनि प्रहरी वेखवर हुनुलेपनि साठगाँठ रहेको प्रस्ट हुने सोही वडाका वडा सदस्यसमेत रहेका भोगेन्द्र यादवले बताए। उनले भने, ‘हामीले पटक–पटक पालिकाका कर्मचारी, नगर प्रहरी लगायत अन्य सबै सरोकारबाला निकायलाई जानकारी गरायौं।

तर, कसैले सुनिदिएन। सबै मिलेकै छ। दिउसो उत्खनन् रोक्न गए राती गरी खन्न थाल्छ। राती रोक्न गए दिउसै स्काभेटर भिराउछन्। अति भएपछि स्थानीयहरु आफैले उत्खखन स्थल घेरेर गाडी प्रहरीको जिम्मा लगाउन बाध्य भयौं।’

उनले यस्तै अवस्था रह्यो भन्ने यो क्षेत्रनै खण्डहरमा परिणत हुने निश्चित रहेको ठोकुवा गरे। 

प्रहरी प्रशासन र नगरपालिकालाई अवैध उत्खनन् रोक्न पटक पटक ताकेता गर्दा पनि कुनै चासो नदेखाएको धनगढीमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम भरोसी महतोले बताए। उनले भने, ‘नगर कार्यपालिकाका सम्पुर्ण प्रतिनिधी, स्थानिय प्रहरी, वनका कर्मचारी, जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको प्रत्यक्ष संलग्नतामा यो अबैध उत्खनन् भईरहेको छ। यसको मुख्य दोषी नियामक निकाय नै हो।’

उनले थपे, ‘नगर र जिल्लाका प्रमुख निकायलाई पटक–पटक अवैध उत्खनन् बारे जानकारी गराउँदा पनि मौन बस्नुले माफिया नियामक निकायको मिलेमत्तो दर्शाउँछ।’

नगरका एक वडा अध्यक्षले अहिले ग्राइभेल उत्खनन् गर्ने माफियाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग सोझो सम्वन्ध रहेको बताउँछन्। ‘दुवै प्रमुखलाई मिलाएपछि दिनदहाडै डोजर भिडाईरहेका माफियालाई के को डर? ती वडा अध्यक्षले भने। 

प्राकृतिक स्रोतमाथि अन्धाधुन्द डोजर चलाउँदा यस क्षेत्रको पर्यावरणीय सन्तुलनमा खलल पुग्ने प्रति स्थानीय चिन्तत छन्। पहिला एक दुईजनाले उत्खनन गर्ने यो क्षेत्र अहिले दर्जनौ माफियाले उत्खनन गरेर  रणभुमि बनाएको छ। सधैं खेतबारी जाने किसान अव एकलै जान पनि डराउनु पर्ने अवस्था भएको छ। 

यस विषमा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव शंकर महतोलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरेपनि सम्पर्कमा आउन चाहेनन्। पछि उनले मोवाइल नै स्विचअफ गरे ।

त्यसैगरी, धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीसँग अवैध उत्खखनको विषयमा प्रश्न गर्दा उनले पहिला नभएको र पछि म बुझेर भनौंला भने। साथै आफूले जानकारी पाएको बखत नगर प्रहरी र जनपथको सहयोगमा नियन्त्रणमा लिने र कार्वाही गर्ने गरेको बताए। 

उनले भने, ‘भर्खरै हामीले नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा उत्खनन् गरेको स्थलमा पुगेर एक थान ट्रिफर र एक स्काभेटरलाई नियन्त्रण लियौं। मैले नेपाल प्रहरीले पठाएको प्रतिवेन अनुसार खोलाकै छेउमा रहेको तिरुपति वालुवा प्रसोधन केन्द्रको भन्ने जानकारी आएपछि नियमानुसार चालिस हजार जरिवाना बुझाएपछि गाडी छोडेको हो।’

यो अवैध उत्खनन् खोलामा गरीरहेको अवस्थामा फेला परेको थियो। यदी वनको जमिनमा उत्खनन् गरेको छ भने वनसंग पनि समन्वय गरीनुपथ्र्यो होइन र ? भनी प्रश्नमा उनले भने, ‘यदी वनको हो भने म वुझछु मलाई त्यो विषय जानकारी भएन। तपाई कार्यालयमै आउनुस् यहीँ वसेर कुरा गरौँला; भन्दै फोन काटे। पछि पटक–पटक सम्पर्क गर्न खोज्दा उनले फोन नै काटिदिँए। 

पछिल्लो पाँच वर्षमा ग्राइभेल माफियाहरुले यो क्षेत्रको करिव पचासौं विघाबाट नियामक निकायकै मिलेमतोमा अवैध रुपमा प्राकृतीक स्रोतको व्यापक उत्खनन् गरेको स्थानिय राम प्रकाश यादबले बताए। उनले भने, ‘सिरहाका नियामक निकायका पदाधीकारीहरु नै विकाउ भएपछि ग्राइभेल माफियाहरुले यस क्षेत्रमा एकछत्र राज चलाएको छ, यहाँ कसैको केही चल्दैन।’ 

सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खनन्ले स्थानियहरु त्रसित बनिसकेका छन्। जनप्रतिनिधि तथा प्रहरी प्रशासनको मिलेमतोमा भईरहेको अवैध उत्खनन्ले स्थानियहरुमा प्रशासनप्रति अविश्वास सिर्जना भईरहेको स्थानियहरुको भनाई छ।

सम्बन्धित खबर