११ पुष २०८१, बिहिवार

नेपालीले आफ्नै तीर्थस्थलहरुको महत्त्व बुझेनन् : जगद्गुरु देवाचार्य

११ कार्तिक २०८१, आइतवार
Image

झापा, १ कात्तिक । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले नेपालीहरुले नै नेपालका धार्मिक स्थलहरुको महत्त्व बुझ्न नसकेको बताउनु भएको छ । 

मेचीनगर–८ मा नवदुर्गा मन्दिरको शनिवार उद्घाटन गर्दै उहाँले सिंगो नेपाल ऋषिहरुको अद्भूत तपोभूमि र देवताहरुको पवित्र वासस्थान भएको चर्चा गर्नुभयो । 

“हामी नेपालीहरुले मातृभूमिमा रहेका पवित्र देवस्थल र नदीहरुको महत्त्व बुझ्न सकेनौं,” उहाँले भन्नुभयो–“पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म पौराणिक कालदेखि हिन्दूहरुको सबैभन्दा ठूला असंख्य तीर्थस्थल रहेका छन् । तिनलाई नचिनेर हामीहरु विदेशी भूमिमा तीर्थस्थल खोज्दै धनराशी खर्च गर्न विवश छौं ।”

महाभारत ग्रन्थ र रामायण कथामा समेत नेपाल देश र त्यहाँका पवित्र तीर्थस्थलहरुको वर्णन गरिएको प्रमाण भेटिए तापनि तिनका बारेमा पर्याप्त प्रचार नहुँदा प्राचीन धार्मिकस्थलहरु ओझलमा परेको उहाँको गुनासो थियो ।

जगद्गुरु देवाचार्यले पुराणहरुमा वर्णन गरिएका १२ वटा ज्योतिर्लिङ्ग, प्राचीन हरिद्वार, प्राचीन सोमनाथ, प्राचीन केदारनाथ, प्राचीन सोमनाथ लगायतका अलौकिक धार्मिक स्थलहरु नेपाली भूमिमै रहेको बताउनुभयो ।

“पूराणहरुमा नेपाल र प्राचीन धार्मिकस्थलका बारेमा सुस्पष्ट रुपमा चर्चा गरिएका छन्,” उहाँले भन्नुभयो–“तर, नेपाल बाहिरका पण्डितहरुले तथ्यलाई कि अनदेखा गरेका छन्, कि त तथ्य नै बङ्ग्याएर कथा बुन्ने गरेका छन् ।”

उहाँले अब नेपालका प्राचीन तीर्थस्थलहरुको पहिचान र प्रचार गरेर नेपाललाई हिन्दूहरुको सबैभन्दा ठूलो पवित्रभूमिको रुपमा विश्वभर चिनाउने समय आएको उल्लेख गर्दै आफुले कौशिकी नदीको तटमा अवस्थित चतराधामलाई प्राचीन हरिद्वारको रुपमा चिनाएर त्यसको थालनी गरेको बताउनुभयो । उहाँले प्राचीनकालमै नेपालको पश्चिमी सीमा लिम्पियाधुरा भएको पुराणमा उल्लेख रहेको दावी गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता मन्दिर समितिका अध्यक्ष कृष्णबहादुर सुबेदीले गर्नु भएको थियो भने सो अवसरमा प्रदेश सांसद् एवम् नेपाली कांग्रेसका सचेतक गोपाल तामाङ, मेचीनगर उपप्रमुख मीना उप्रेती, पूर्व नगरप्रमुख बिमल आचार्य, पूर्व प्रदेश सांसद् श्रीप्रसाद मैनाली, वडाध्यक्ष गिरीराज धमला लगायतले मन्तब्य राख्नु भएको थियो ।