१९ मंसिर २०८१, बुधवार

रेविज र लुतोविरुद्ध भ्याक्सिन लगाएर मनाइयो कुकुर तिहार

१६ कार्तिक २०८१, शुक्रवार
Image

झापा, १५ कात्तिक । मेचीनगरको थिङ्कर्स क्लवले सहरका दर्जनौं सामुदायिक कुकुरलाई सामूहिक पूजा गरेर रेविज र लुतोविरुद्धको भ्याक्सिन लगाइदिएको छ ।

आज कुकुर तिहारको अवसर पारेर क्लवले उक्त कार्य गरेको हो । स्थानीय सामाजिक संघ संस्थाहरुले पनि यस कार्यमा सहकार्य गरेको क्लवका अध्यक्ष आयुष्मान निरौलाले बताउनुभयो ।

पशु प्राविधिकहरुको टोली लिएर क्लवका कार्यकर्ताहरु विहानैदेखि धुलाबारी, इटाभट्टा र काँकडभिट्टामा सामुदायिक कुकुरको खोजीमा निस्किएका थिए ।

कृषि युगदेखि नै मानिसको भरपर्दो पहरेदारको रुपमा कुकुरलाई घरमा पालिदै आएको छ । हिन्दू परम्परामा तिहारको दोस्रो दिन कुकुरको पूजा गरी मीठो भोजन खुवाउने र गलाभरि सयपत्रीको माला पहिर्याउने चलन छ ।

पछिल्लो समय सामुदायिक कुकुरको संख्या बढेसँगै तिनबाट रेबिज संक्रमणको जोखिम पनि बढेको हुँदा सामाजिक सेवा र संस्कृतिलाई संयोजन गर्दै कुकुरलाई भ्याक्सिन लगाउने र सहज रुपमा चिन्नका लागि चम्किलो बेल्ट लगाइदिने कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष निरौलाले बताउनुभयो ।

निरौलाका अनुसार धुलाबारीदेखि काँकरभिट्टासम्म ५० वटा सामुदायिक कुकुरलाई चम्किलो बेल्ट लगाइएको र एक सय वटा कुकुरलाई रेविज र लुतोको भ्याक्सिन लगाइएको थियो । उक्त अवसरमा १५० वटा सामुदायिक तथा घर पालुवा कुकुरहरुलाई खाना खुवाइएको जनाइएको छ ।

कार्यक्रमलाई रोटरी क्लब अफ मेचीनगर, रोट्रयाक्ट क्लब अफ मेचीनगर, रोट्रयाक्ट क्लब अफ इटाभट्टा, रोट्रयाक्ट क्लब अफ काँकडभिट्टा, उज्यालो यात्रा, प्रगतिशील युवा क्लब धुलाबारी लगायतका संघ–संस्थाले प्रत्यक्ष सहयोग गरेका थिए ।