झापा, २३ कात्तिक । नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’का संयोजक भूपेन्द्रजंग शाहीले सहकारी ठगी घटनाका आरोपी सबैलाई कानूनी कार्वाहीको दायरामा ल्याउन र पीडितको बचत फिर्ताको वातावरण बनाउन माग गर्नु भएको छ ।
काँकडभिट्टाबाट आज यात्राको सुरुवात गर्दै नेपाल तरुण दलका पूर्व केन्द्रीय महासचिव शाहीले सहकारीको बचत अपचलनमा संलग्नलाई पार्टीहरुले जोगाउन आवश्यक नरहेको बताउनुभयो ।
“हामी सरकारलाई जोडदार आग्रह गर्दछौं,” उहाँले भन्नुभयो–“सहकारीको बचत दुरुपयोग गर्ने व्यक्ति जुनसुकै पार्टीको भए तापनि कानूनी कार्वाही गरिनुपर्छ ।” सहकारी ठगीका कारण पीडित भएकाहरुको बचत रकम फिर्ताको वातावरण सरकारले नै बनाउनु पर्ने उहाँको जोड थियो ।
मुलुकमा बेराजगारी, भ्रष्टाचार र आर्थिक संकट चुलिदै गएको पृष्ठभूमिमा गठन भएको सरकारले सुशासन र समृद्धिको भरोसा जगाउनु पर्ने धारणा राख्नुभयो । उहाँले सहकारी ठगीसँगै, गिरीबन्धु चिया बगानलगायतका विभिन्न विषयमा उठेका आशंकाका विषयमा छानविन हुनुपर्ने माग गर्नुभयो ।
नेपाली कांग्रेसका ५० जना युवा नेता सहभागी रहेको यात्राको नेतृत्व तरुण नेता शाहीले गर्नु भएको छ । आगामी मङ्सिर ४ गते महेन्द्रनगरमा यात्रा समापन हुने बताइएको छ ।
भ्रष्टाचार उन्मूलन, सहकारी ठगीमाथि कार्वाही, सहकारी पीडितको बचत फिर्तालगायत १० बुँदे मागलाई यात्राको मूल ध्येय मानिएको छ । यात्रामा सांस्कृतिक टोली समेत रहेको छ । यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै महेन्द्रनगर पुग्ने यात्रा संयोजक शाहीले बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेल, प्रेमिका राना मगर, धर्मेन्द्र नेम्बाङ, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो