११ पुष २०८१, बिहिवार

तरुण दलले बनाइदियो श्रमिकको घर

२६ कार्तिक २०८१, सोमवार
Image

झापा, २६कात्तिक । नेपाल तरुण दलले भद्रपुर नगरपालिका वडा नं. ५ का घरवारविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ ।

इटा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतवार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले श्रमिक दायिरालाई हस्तान्तरण गर्नुभयो ।

घर निर्माणमा रु. पाँच लाख खर्च भएको र सबै लागत तरुण दल भद्रपुरले व्यहोरेको तरुण दलका भद्रपुर–५ का सभापति इन्द्र नेपालले बताउनुभयो । घर बनेको पाँच धुर जग्गा भने श्रमिक दायराकै नाममा रहेको थियो ।

नगरप्रमुख गणेश पोखरेलले घरबारबिहीन ब्यक्तिको घर निर्माणमा तरुण दलले लिएको पहलकदमी उदाहरणीय रहेको बताउनुभयो । उहाँले जनसेवा र सामाजिक कार्यमा राजनीतिक दल तथा तिनको भ्रातृ संगठनहरु सक्रिय हुँदा जनतामा लोकतान्त्रिक व्यवस्थाप्रतिको भरोसा अझ बढेर जाने धारणा व्यक्त गर्नुुभयो ।

सोही वडाका वडाध्यक्ष बन्धु कार्कीले तरुण दलले पक्की घर निर्माण गरिदिनु अघि दायिराको परिवारले घाम र पानी नछेक्ने सानो झुपडीमा आश्रय लिँदै आएको जानकारी दिनुभयो । नवनिर्मित घर प्रवेशपछि श्रमिक दायिराले आफ्नो परिवारले आफ्ना लागि पक्की घर बनाउन सक्ने कुनै कल्पना समेत नगरेको बताउनुभयो ।