झापा, २६ कात्तिक । झापा गाउँपालिका–२ टाँघनडुब्बामा आइतवार स्रोत नखुलेको रु. पाँच लाख ३४ हजार नेपाली रकमसहित एक भारतीय नागरिक पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाका सूचना अधिकारी महेशराज बिष्टले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी टाँघनडुब्बाबाट खटिएको टोलीले प्र १–०१–०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशनगंज जिल्ला डिगलबैङ्क ग्रामपंचायत–७ बस्ने २० वर्षीय असफाक आलमलाई सो रकमसहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा मोटरसाइकल र रकमसहित पक्राउ परेका आलमलाई बीओपी टाँघनडुब्बामा राखिएको बिष्टले जानकारी दिनुभयो ।