११ पुष २०८१, बिहिवार

मेचीनगरमा पहिलोपल्ट रिडर्स फेस्टिबल आयोजना हुँदै

२५ कार्तिक २०८१, आइतवार
Image

मेचीनगर, २५ कात्तिक । पठन संस्कृतिलाई अभियानको रुपमा लैजाने उद्देश्यका साथ स्थापित ‘रिडर्स अभियान नेपाल’ले मेचीनगरमा ‘रिडर्स फेस्टिबल’ आयोजना गर्ने भएको छ ।

मंसिर २७, २८ र २९ गते काँकरभिट्टामा फेस्टिबलको आयोजना गरिने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अभियानका अध्यक्ष सन्तोष आचार्यले समाज रुपान्तरणका लागि प्रश्न गर्नसक्ने चेत भएको जनशक्ति आवश्यक हुने भएकाले नयाँ पुस्तामा जागरण लैजान अभियान जन्मिएको बताउनुभयो ।

उहाँले नेपाल, भारत, भूटान र म्यान्मारका पाठकहरुको सहभागिता रहने फेस्टिबललाई सफल बनाउन सबै क्षेत्रको सद्भाव आवश्यक रहेको समेत बताउनुभयो ।

फेस्टिबलमा पाठकहरुले पुस्तकका बारेमा आफ्नो भनाईलाई प्रतियोगितात्मक रुपमा राख्न पाउने र उत्कृष्ट दश जना पाठकलाई प्रोत्साहनस्वरुप पुरस्कृत समेत गरिने उहाँले जानकारी दिनुभयो ।

अभियानको संस्थापक कार्य समिति नौ सदस्यीय रहेको बताइएको छ । हाल अभियानले मेचीनगरका विद्यालयहरुमा रिडर्स क्लव गठन गरेर विद्यार्थीलाई पाठ्यक्रम बाहिरका पुस्तक पढ्ने र तिनका बारेमा विमर्श गराउने अभियान सञ्चालन गरिरहेको अभियानका सचिव मदन अधिकारीले बताउनुभयो । 

पत्रकार सम्मेलनमा देबकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा र लक्ष्मी कन्सल्टेन्सीका संस्थापक शंकर भट्टराईको समेत उपस्थिति रहेको थियो ।