झापा, २६ कात्तिक । कर्मचारी सञ्चय कोषले झापाको विर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ । आज एक कार्यक्रमबीच कोषका केन्द्रीय प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको उद्घाटन गर्नुभयो ।
साविक मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता सेवाग्राहीको सुविधाका लागि विर्तामोड सेवा केन्द्र सञ्चालनमा आएपछि कोषको सेवा लिन विराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य भएको कोषका केन्द्रीय प्रशासक धितालले बताउनुभयो ।
कोषले प्रविधिमा भइरहेको विकाससँगै अनलाइनमार्फत समेत सेवा प्रवाह गरिरहेको भए तापनि धितोमा आधारित कर्जा लगायत अन्य सेवा प्रवाहका लागि स्थानीयस्तरमा सेवा केन्द्रको स्थापना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
विर्तामोड सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले कोषमार्फत सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले सञ्चयकर्ताको सामाजिक सुरक्षाका लागि सुत्केरी तथा शिशु स्याहार योजना, स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपूर्ति योजना र काजकिरिया अनुदान योजना सञ्चालन भइरहेको बताउनुभयो ।
कर्मचारी सञ्चय कोष ऐन २०१९ बमोजिम सञ्चय कोष व्यवस्थापनको मुख्य जिम्मेवारी कोषले पाएको छ भने निवृत्तिभरण कोष ऐन २०७५ बमोजिम वि.सं. २०७६ साउनदेखि नियुक्त भएका कर्मचारीहरुको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्थापन समेत गरिरहेको कोषका शाखा कार्यालय विराटनगरका प्रमुख रामशरण अर्यालले बताउनुभयो ।
हाल उपत्यका बाहिर सेवा प्रवाह गर्ने कोषको कार्यालयको संख्या १० पुगेको कोषले जनाएको छ । जसमा आठ वटा शाखा कार्यालय र विर्तामोडसहित दुई वटा सेवा केन्द्र रहेका छन् ।