१८ मंसिर २०८१, मङ्गलवार

रवि लामिछाने पोखरा विमानस्थलमै, भैरहवाको मौसम प्रतिकुल हुदा उडान हुन सकेन

२७ कार्तिक २०८१, मङ्गलवार
Image

पोखरा । भैरहवाको मौसम प्रतिकुल भएपछि विमान उड्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा विमानस्थलमै रहेका छन् । उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको छ । 

लामिछानेलाई बयानका लागि रुपन्देही लैजाने क्रममा बिहानै पोखरा विमानस्थल लागिएको भएपनि भैरहवाको मौसम प्रतिकुल भएका करण विमानले उडान भर्न सकेका छैनन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही लैजान लागेको हो । 

लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।