७ मंसिर २०८१, शुक्रवार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

२८ कार्तिक २०८१, बुधवार
Image

ललितपुर, महालक्ष्मी नगरपालिका-३ इमाडोल नयाँ पुलस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित काठमाडौं बस्ने मकवानपुर घर भएका २६ वर्षीय कबिर लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२-०५५ प ०४३५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ५२ एम्पुल, एभिल ५२ एम्पुल र डाइजेपाम ५२ एम्पुल सहित सुनसरी धरान उपमहागनरपालिका-१४ बुढासुब्बा टोल बस्ने २४ वर्षीय सुशिल भुजेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी मोरङ, कटहरी गाउँपालिका-१ महेशपुर बस्ने ४१ वर्षीय गोपाल कुमार राजबंशीलाई अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा विराटनगर महानगरपालिका-४ बस्ने ६२ वर्षीय सहरूद्दिन मियासँग खरिद गरेको खुल्न आएपछि प्रहरीले सहरूद्दिनको घर तलासी गर्दा थप ३ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ८ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ व्यास नगरपालिका-१० बस्ने २८ वर्षीय उत्सव पौडेल र काठमाडौं टोखा नगरपालिक-३ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका ४० वर्षीय अर्जुन राज पाण्डे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ९० मिलिग्राम सहित रौतहट गरूडा नगरपालिका-५ बस्ने २१ वर्षीय रमोध राय यादवलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ झण्डिनगरस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १३ हजार ट्याब्लेट सहित सोही नगरपालिका-२ झण्डेनगर बस्ने २३ वर्षीय सिकन्दर चौहानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।