मेचीनगर, २९ कात्तिक । बिना भिसा अबैध रुपमा नेपाल प्रवेश गरेको अभियोगमा पक्राउ परेका दुई जना बंगलादेशी नागरिकलाई आज काठमाडौं पठाइने भएको छ ।
उनीहरुलाई सशस्त्र प्रहरीले बुधवार काँकडभिट्टाको गैरीगाउँ सीमाक्षेत्रबाट पक्राउ गरी अध्यागमन कार्यालय काँकरभिट्टालाई बुझाएको थियो । पक्राउ पर्नेहरुमा २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन रहेका छन् ।
काँकडभिट्टा नाकाबाट ५०० मिटर दक्षिण ९०/३ नम्बरको सीमास्तम्भ नजिक गैरीगाउँमा बुधवार अनाधिकृत रुपमा प्रवेश गरेका उनीहरुलाई सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले नियन्त्रणमा लिएको थियो ।
कुनै परिचयपत्र समेत नबोकेका उनीहरुको साथबाट बंगलादेशी मुद्रा एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताउनुभयो ।
पक्राउ परेका बंगलादेशी नागरिकद्वयलाई सशस्त्र प्रहरी बलले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको थियो । अध्यागमन कार्यालय काँकडभिट्टाले आज दुबै जनालाई आवश्यक कार्वाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले हाल दुबै बंगलादेशी नागरिकलाई अध्यागमन कार्यालय काँकडभिट्टाको अनुरोधमा बुधवार इलाका प्रहरी कार्यालय काँकडभिट्टामै राखिएको बताउनुभयो ।