७ वैशाख २०८२, आइतवार

अर्जुनधारा धाममा महायज्ञको तयारी, पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

२९ कार्तिक २०८१, बिहिवार
Image

झापा, २९ कात्तिक । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२ औं बार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ गतेदेखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिनुभयो । विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी सो पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । वि.सं. २०३९ सालदेखि यस धाममा बार्षिक अनुष्ठान हुँदै आएको छ ।

उहाँले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमदभावगत सहित हवनात्मक महायज्ञ गरिने जानकारी दिनुभयो । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना गरिने महायज्ञको पूर्वतयारीका लागि विभिन्न १९ वटा उपसमितिहरु गठन गरिएको छ । समितिले आफ्नो जिम्मेवारी अनुसार धामधम काम गरिरहेका छन् ।

हाल मूल मन्दिरको पूर्व– दक्षिणतर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । अर्जुनधारा नगरपालिका –८ स्थित ऐतिहासिक शनिश्चरे बजार चोकमा बिजुली बत्तीको ५० फिट अग्लो गेट निर्माण तयारी गरिएको छ ।

अर्जुनधारा जलेश्वरधामका ब्यासाचार्य कुबेर सुवेदीको ब्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहने उहाँले बताउनुभयो । धाममा रु.५० लाखको अक्षयकोष रहेको र सो कोषलाई रु दुई करोड पु¥याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो । 

अष्टोत्तरशत श्रीमद्भागवत पाठपारायणसँगै सोही संख्यामा यजमान समेत राख्ने लक्ष्य लिइएको यज्ञका लागि रु. ५१ हजार सहयोगसहित आफ्ना पितृको नाम संकल्पसहित यजमान बन्न पाइने कोषाध्यक्ष जोशीले जानकारी दिनुभयो । 

महायज्ञ अवधिभरमा सहयोग रसिद, भागवत भेटी, गंगा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित रु दुई करोड, १६ लाख आम्दानी हुने अनुमान गरिएको छ । यज्ञ सम्पादनका प्रचार–प्रसार, साजसज्जासहित विभिन्न शीर्षकमा रु. ९५ लाख ५० हजार रु खर्च हुने अनुमान गरिएको गरिएको छ । 

मङ्सिर ८ गते विभिन्न जातजातिको झाँकीसहित नगर परिक्रमा गरी महायज्ञको उद्घाटन गरिने भएको छ ।  दैनिक ११ बजेदेखि ३ बजेसम्म संगीतमय कथा प्रवचन, विहान ७ बजेदेखि श्रीमद्भागवत कथा पाठपारायण, दैनिक साझ ७ः३० देखि ९ बजेसम्म भजन–कीर्तनसहित रात्री जागरण, मंसिर १५ गते विहान शतविजरोपण कार्यक्रम तय गरिएको कोषाध्यक्ष जोशीले बताउनुभयो । 

सरकारले नेपालका एक सय पर्यटकीय गन्तब्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्वीरलाई नेपाल सरकारले हुलाक टिकटमा सकेत अंकित गरिसकेको छ ।

महाभारतकालकालीन किंबदन्ती अनुसार पाँच पाण्डवले गुप्तबास बसेको बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषबाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानको रुपमा यस धामलाई मानिएको छ । 

विराट राजाको गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु फर्काएर ल्याएका थिए । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषबाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।