सञ्जय मिश्रा
रौतहट, ३ मंसिर । रौतहट स्थित शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरी एकजना मेयर माथी आक्रमणको प्रयास भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवाल माथी आईतवार साँझ आक्रमणको प्रयास भएको हो। शिक्षक सरुवाको बिषय लिएर आईतवार १०–१२ जनाको संख्यामा मेयर जैसवालको घरमा गएका मानिसहरू भनाभन गर्दै आक्रमणको प्रयास गरेका हुन्।
आक्रामक शैलीमा गएका उनीहरूले मेयर जैसवालको घर अगाडी तथानाम गालीगलौंज गरिरहेका थिए । प्रतिबाद गरेका मेयरका छोरा शैलेस जैसवाल माथी उनीहरू धक्कामुकी समेत गरेका छन्।
गत शुक्रवार नगर शिक्षा समितिको बैठकले ६ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो। सोही मध्ये एकजना माबि गरुडाका शिक्षकलाई अन्य विद्यालयमा किन सरुवा गरेको भन्दै उनीहरू मेयर कन्थमणि जैसवालमाथी आक्रमण गर्न खोजेको बुझिएको छ।
शिक्षक सरुवाको विषय नगरपालिकामा गएर सुल्झाउनु पर्नेमा केही राजनीतिक दलका नेता तथा अन्य शिक्षकहरुको उस्काहटमा गरुडा ४ का केही मानिसहरू यस प्रकारको अभद्र ब्यवहार गरेको मेयरका छोरा शैलेस जैसवालले बताएका छन्। गरुडा ४ का रामएकवाल पटेल, विरेन्द्र पटेल, दिलिप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादव लगायतका मानिसहरू मेयर जैसवाल विरुद्द खुलेरै लागेको शैलेसले जानकारी दिएका छन्।
यसैबीच अभद्र ब्यवहारमा लागेका ७ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दिएको मेयरका छोरा शैलेसले बताएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले सामान्य भनाभन भएको तर कसैमाथी आक्रमण नभएको बताउँदै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।
यसअघि शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा आक्रमण गर्दा ७५ लाख बराबरको क्षती भएको सार्वजनिक गरिएको थियो। उक्त घटनामा ईलाका प्रहरी कार्यालय गरुडाका १० जना बिरुद्द मुद्दा दायर गरिएको थियो।