झापा, ३ मङ्सिर । पूर्वीनाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक स्थानीय हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ ।
भद्रपुर र मेचीनगर नगरपालिकाको सीमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा बिगत एक वर्ष अघि भ्वाङ परेको थियो । मर्मत सम्भार नगरिदा भ्वाङ बढेर अहिले पुलबाट चारचक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।
भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीहरुले सेवा बन्द गरेको मेचीनगर–१५ निवासी हिरण्य न्यौपानेले बताउनुभयो । धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पुर्याउँदै आएका थिए ।
“पुलमै भ्वाङ परेपछि यात्री बोक्ने चार चक्के कुनै पनि गाडीहरु चलेका छैनन्,” स्थानीयबासी न्यौपानेले भन्नुभयो–“जनताले साह्रै दुःख पाए । सरकारले पुल मर्मत गर्ने या अर्को पुल बनाउने बारेमा कुनै चासो दिएन ।”
भूटान, भारतको सिक्किम, दार्जीलिङ, कोलकाता, आसाम लगायतबाट नेपाल आउने पर्यटकले चन्द्रगढी विमानस्थल प्रयोग गर्नका लागि सोही सडक प्रयोग गर्दै आएका थिए । अब उनीहरुले विर्तामोड र चारआलीको अर्को लामो सडक प्रयोग गर्नु परिरहेको छ ।
ज्यामिगरढी क्षेत्रबाट चन्द्रगढी र भद्रपुरका विद्यालयहरुमा अध्ययनका लागि जाने विद्यार्थीहरु यातायात अवरुद्ध हुँदा सकसमा परेका छन् । भद्रपुर र चन्द्रगढीबाट आउने विद्यालयका गाडीहरुले पुलको पश्चिमी किनारामा विद्यार्थीलाई ओरालेर फर्किने गरेका छन् । आफ्ना छोराछोरीलाई लिन ज्यामिरगढीका अभिभावकहरु पुलसम्मै मोटरसाइकल र सिटी सफारी लिएर पुग्न बाध्य छन् ।
यसैबीच, भद्रपुर र मेचीनगर नगरपालिकाका नगरप्रमुखद्वय गणेश पोखरेल र गोपाल बुढाथोकीले आइतवार भ्वाङ परेको पुलको निरीक्षण गर्नु भएको छ । बिगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ दुबै नगरपालिकाले चासो नदेखाएको स्थानीयबासीको आरोप छ ।
“एउटा नगरले अर्कोलाई देखाएर समस्याबाट फुत्किने जुक्ति मात्र लगाएर हँुदैन,” भद्रपुर–९ निवासी राहुल राजबंशी भन्नुुहुन्छ–“करोडौंको बजेट बनाउने नगरपालिकाले भत्किएको पुल समेत टाल्न नसक्दा यो अवस्था आयो ।” नगरपालिकाहरुले पूर्वाधार शुल्क भनेर सवारी साधनहरुबाट कर उठाउने गरेको जनाउँदै राजबंशीले पुल मर्मत गर्ने दायित्वबाट नगरपालिका पन्छिन नहुने बताउनुभयो ।