९ माघ २०८१, बुधवार

झापा एघारले दशकपछि फुटबल प्रतियोगिता गर्दै, बिजेतालाई दश लाख पुरस्कार

४ मंसिर २०८१, मङ्गलवार
Image

विर्तामोड, ४ मङ्सिर । देश–विदेशका प्रतियोगिताहरुमा उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै आएको ‘झापा एघार फुटबल क्लब’को आयोजनामा झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

यही मङ्सिर २९ देखि पुस ८ गतेसम्म विर्तामोडको डोमालाल राजबंशी रंगशालामा हुने ‘विर्तामोड झापा नकआउट फुटबल प्रतियोगिता’मा नेपालका आठ र भारतका दुई फुटबल टोलीले भाग लिने प्रतियोगिता सञ्चालक समितिका संयोजक केशवराज दाहालले बताउनु भयो ।

उहाँले प्रतियोगितामा बिजयी टोलीले रु. दश लाख, ट्रफी र मेडल पाउने र उपबिजेता टोलीले रु. पाँच लाख नगद पुरस्कार, ट्रफी र मेडल पाउने जानकारी दिनुभयो । पाहुना टोलीमध्ये सिक्किमको एउटा टीम आउने निश्चित भइसकेको र अर्को टोलीसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा स्थानीय रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएकाहरुलाई प्राथमिकतामा राखिने र ए डिभिजनका अरु टोली समेत सहभागी हुने उहाँको भनाई थियो ।

‘झापा एघार फुटबल क्लब’ले वि.सं. २०७२ सालमा पहिलोपल्ट ‘झापा गोल्डकप’को सुरुवात गरेको थियो । झापा गोल्डकपलाई छुट्टै संस्थाको रुपमा विधिवत् दर्ता गरी प्रतियोगिताको विभिन्न संस्करण आयोजना गरिएका थिए । यसपटक क्लव आफैले फेरि प्रतियोगिताको आयोजना गरेको क्लवका महासचिव गणेश पोखरेलले बताउनुभयो ।

क्लवका संस्थापक अध्यक्ष जलकुमार गुरुङले झापा जिल्ला फुटबलका लागि नेपालको ब्राजिल भएको चर्चा गर्दै फुटबलप्रति झापालीमा अत्यन्त ठूलो आस्था भएको बताउनुभयो । उहाँले प्रतियोगिताको बिजेता पुरस्कार विर्तामोड नगरपालिकाले र उपबिजेता पुरस्कार इलामको गोर्खा चियाले प्रदान गर्ने समझदारी भएको समेत जानकारी दिनुभयो । 

झापामा फुटबलको स्तर बढाउन एकाडेमी सञ्चालन गर्ने, खेल पर्यटनको विकास गर्ने र झापा एघारमा आवद्ध फुटबल खेलाडीहरुका लागि श्रोतको प्रबन्ध गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । 

झापा एघारको टोली ११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।

विराट गोल्डकप, कटारी गोल्डकप, भाइभ्याली गोल्डकप, मानेभञ्ज्याङ गोल्डकप, भीमनारायण गोल्डकप, काँकरभिट्टा गोल्डकपजस्ता प्रतियोगिताहरुमा विजेता भएको ‘झापा एघार’ सिक्किमको गभर्नर्स गोल्डकप तथा झापा गोल्डकपको पाँचौँ संस्करणसम्म उपविजेता रहेको थियो । यसैवर्ष मोरङको बेलबारीमा सम्पन्न बेलबारी गोल्डकपको उपाधि समेत ‘झापा एघार’ले जितेको थियो ।