झापा, ४ मङ्सिर । प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले आज झापा निर्वाचन क्षेत्र नं. २ का आधा दर्जन विकास आयोजनाको निरीक्षण गर्नु भएको छ ।
मदन भण्डारी राजमार्ग लगायतका ठूला आयोजनाको समेत निरीक्षण गरेपछि उहाँले बजेट अभावमा विकास आयोजनाहरु प्रभावित बताउनुभयो ।
“योजना धेरै परेका रहेछन्, तैपनि चित्तबुझ्दो अवस्था देखिएन,” झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सभामुख घिमिरेले विकास आयोजनाहरुको निरीक्षणपछि भन्नुभयो–“संसद्को सभामुखको रुपमा विधि निर्माणमा सम्पूर्ण शक्ति लगाउँदै आएको छु । तथापि झापा क्षेत्र नं. २ को विकासमा मेरो निरन्तर चासो र प्रयास हुनेछ ।”
मुलुकको शिथिल अर्थतन्त्रको असर विकास निर्माणमा परेको जनाउँदै उहाँले काठमाडौंमा धेरै समय बिताउनु पर्ने बाध्यता रहे तापनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आज विहानदेखि विकासका आयोजनाहरुको निरीक्षणमा निस्किनु भएको उहाँ साँझ मात्र विर्तामोडस्थित निवास फर्किनु भएको सभामुखको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।
संयोजक अधिकारीका अनुसार सभामुख घिमिरेले पूर्वीसीमा मेचीदेखि महाकालीसम्म जोड्ने निर्माणाधीन मदन भण्डारी राजमार्गको अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर र इलामको रोङ खण्डको निरीक्षण गर्नु भएको थियो । त्यसक्रममा उहाँलाई प्रदेश सांसद् चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोमदेन, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा र आयोजनाका अधिकारीहरुले मदन भण्डारी राजमार्गको प्रगति र अवस्थाका बारेमा अवगत गराएका थिए ।
सभामुख घिमिरेले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मदन भण्डारी राजमार्गको निर्माणको गति सुस्त भएकोमा चिन्ता व्यक्त गर्दै बजेट निकासा र प्राविधिक समस्या समाधानका लागि मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने बताउनुभयो ।
अर्जुनधारा–११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिकास्थान जोड्ने नौ किलोमिटर सडक, अर्जुनधारा–८ स्थित टोपीचोक लगायतका सडक आयोजनाहरुको निरीक्षण गर्दै उहाँले निर्माण पक्षलाई सडकको गुणस्तर कायम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।
सभामुखले उत्तरी झापाको हात्ती प्रभावित बस्तीको निरीक्षण क्रममा स्थानीयबासीसँग अन्तरक्रिया गर्नु भएको थियो भने हात्ती नियन्त्रणका लागि सरकारले निर्माण गरेको विद्युतीय घेराबेरा परियोजनाको अवस्था बारे जानकारी लिनु भएको थियो ।
आइतबार गृहजिल्ला झापा आए पुग्नु भएको उहाँले पहिलो दिन बिर्तामोड र कनकाई क्षेत्रको विकास आयोजनाहरुको निरीक्षण गर्नु भएको थियो । दोस्रो दिन सोमवार उहाँले सुपारी प्रशोधन केन्द्रको निरीक्षण गर्नु भएको थियो भने चिया उद्योगीहरुसँग चिया क्षेत्रका समस्या बारेमा निवासमै छलफल गर्नु भएको थियो । सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी हुने प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।