धार्मिक पर्यटकीयस्थल दोमुखा बेहुलीझैं सिंगारियो
झापा, ५ मङ्सिर । कनकाई माईको किनारमा रहेको फाँटिलो जमिनमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझै सिंगारिएको छ ।
पहाडको फेदी, माईको कञ्चन पानीसँगै प्राकृतिक छटाहरुले भरिपूर्ण यो क्षेत्र जिल्लाकै पर्यटकीय आकर्षक गन्तव्यमध्येको महत्वपूर्ण स्थान हो । त्यसमा पनि विभिन्न रंगका छाताहरुले बेहुलीझंै सिंगारिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत बढेको छ ।
शिवसताक्षी नगरपालिका–१० मा रहेको यस स्थानमा पुग्नका लागि पूर्व पश्चिम राजमार्ग माइधार बजारदेखि उत्तर तीन किलोमिटर पक्की सडक रहेको छ । धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो सुट, विभिन्न म्यूजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरु पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताउनुभयो ।
उहाँले हालै समितिले रु. ४५ हजारको लागतमा तीन सय वटा विभिन्न रङका छाताहरुले सो स्थान सजाइएको जानकारी दिनुभयो । “हामीले पर्यटकलाई आकर्षण गर्न बर्षैपिच्छे नयाँ नयाँ योजना ल्याइरहेका छौं”, उहाँले भन्नुभयो, “पर्यटकको मनोभावना बुझेर त्यही अनुसारको संरचना निर्माण गर्छौं ।”
दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोज स्थल, चिल्ड्रेन पार्क, बहुसांस्कृतिक संग्राहलयलगायतका संरचना छन् । दोमुखा सडकको प्रवेशद्वार माइधारमा गेट निर्माण गरिएको छ । यहाँ आउने पर्यटकहरुलाई मध्यनजर गरेर ३० वटा बढी साना ठूला होटलहरु समेत सञ्चालनमा रहेका छन् । पालिकाले यस क्षेत्रका सडकका दुवैपट्टि सडकवत्ती जडान गरेर झिलिमिली बनाउने कार्यलाई अघि सारेको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिनुभयो । उहाँका अनुसार दोमुखामा साँझमा पनि पर्यटकहरु आउन सक्ने वातावरण बनाउन सन्ध्याकालिन कार्यक्रमहरुको समेत आयोजना गरिने योजना छ ।
कनकाई नदीबाट नहर सुरुवात गरी बाँध निर्माण गरिएको र चुरेक्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा मङ्सिरदेखि चैत महिनासम्म पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बंगाल, सिक्किम, विहारलगायतका स्थानबाट समेत पर्यटक आउने गरेको पत्रकार सरोज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बार्षिक एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरु यस क्षेत्रमा घुम्नका लागि आउने गरेका छन् ।
महारभारत पर्वत श्रृंखलाबाट उत्पति भई चुरे पहाडलाई चिर्दै पूर्व मोहडा बनाई निस्कने कनकाई नदीमा जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा कोरियाली विकास निगमले नदीको दक्षिणतर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा विभाजन गरेको हुँदा यस क्षेत्रको नाम दोमुखाले परिचित भएको पत्रकार भट्टराईको भनाई छ ।
दोमुखालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न वि.सं. २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नामकरण गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो । हाल सो संस्थामार्फत नगरपालिका, प्रदेश र संघीय सरकारको आर्थिक सहयोगमा दजर्नाैं भौतिक संरचनाहरु निर्माण भएका छन् ।