१५ पुष २०८१, सोमवार

काँसघारी फाँडेर भद्रपुरमा क्रिकेट मैदान बन्दै

५ मंसिर २०८१, बुधवार
Image

झापा, ५ मङ्सिर जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदानका लागि तीब्र गतिमा काम भइरहेको छ ।

मेची बहुमुखी क्याम्पस भद्रपुरको जग्गा २५ बर्षको लागि लिजमा लिएर भद्रपुर क्रिकेट क्लवले खेल मैदान बनाउने कामलाई अघि बढाएको हो । 

क्याम्पस परिसरमा रहेको काँसघारीलाई फाँडेर खेल मैदान सम्याउने काम भइरहेको भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बाले बताउनुभयो । उहाँले यो जिल्लाकै पहिलो र कोशी प्रदेशको दोस्रो क्रिकेट रंगशाला हुने बताउनुभयो ।

“जिल्लामा अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त क्रिकेट खेलाडी धेरै छन् तर मैदान छैन”, उहाँले भन्नुभयो,   “क्रिकेट खेलप्रति युवाहरुको क्रेज बढिरहेको छ, यसलाई मध्यनजर गरेर यहाँका उद्यमी, व्यवसायी र खेलप्रेमी महानुभावका साथ सहयोग लिएर मैदान धमाधम बनाइरहेका छौं ।”

उहाँले खेल मैदान बनाउनका लागि वडाबाट गत बर्ष रु. तीन लाख बजेट दिएर काम सुरु गराइएको बताउनुभयो । उहाँले चालु आर्थिक बर्षमा समेत रु. तीन लाख बजेट सो मैदानका लागि विनियोजन गरिसकेको बताउनुभयो । हाल वडाको बजेटसहित खेलप्रेमी महानुभावहरुले स्वतस्फुर्त रुपमा दिइएको करिब रु. १५ लाख रकमबाट खेल मैदान बनाउने काम भइरहेको छ ।

वडाध्यक्ष सुब्बाले क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उदेश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण सुरु गरिएको बताउनुभयो । रंगशाला निर्माणका लागि कति खर्च लाग्छ भन्ने यकिन भइनसकेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार कोशी प्रदेश सरकारले समेत चालु आर्थिक बर्षमा रु. १५ लाख बजेट रंगशाला बनाउन सहयोग गरेको छ । पछिल्लो समय खेल मैदानका लागि क्रिकेट एशोसिएन नेपाल (क्यान)ले समेत चासो राखेको छ ।

क्लव र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता पत्रमा खेल मैदान २५ वर्षको लिज क्लवलाई दिने र क्लबले मैदान प्रयोग गरे वापत क्याम्पसलाई वार्षिक रु. ५० हजार प्रदान गरिने उल्लेख छ । 

उहाँले यो खेल मैदान पर्यटन मैत्री बनाउनका लागि वरिपरि जारकाण्डलगायतका फूलजन्य १५० बोट विरुवा समेत लगाइएको बताउनुभयो । उहाँले विगतमा लागूऔषध दुव्यर्सनीहरुको अखडा भएको स्थानलाई क्रिकेट मैदान बनाउन पाएकोमा गौरव लागेको बताउनुभयो । 

अध्यक्षले खेल मैदान बनाउन सुरु भएसँगै नेपाल भारत मैत्रीसंगको तर्फबाट भारतको गलगलिया र भद्रपुरमा रहेको क्रिकेट टीमबीच खेल खेलाउन भारतीय दुतावासले आग्रह गरेर रु. पाँच लाख रकम समेत विनियोजन गरिसकेको बताउनुभयो । उहाँले सो खेलका लागि समेत तयारी भइरहेको जानकारी दिनुभयो । 

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।