११ पुष २०८१, बिहिवार

उपनिर्वाचनमा तीन जना निर्बिरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा

५ मंसिर २०८१, बुधवार
Image

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये ३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३७६ जना चुनावी मैदानमा कायम भएका छन् ।

उपनिर्वाचनको निर्वाचन कार्यक्रम अनुसार जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयनपत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वि.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगले जानकारी दिएको छ । यस अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरेको छ । 

निर्वाचन कार्यक्रम मङ्सिर ६ गतेदेखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार प्रसार गर्न सक्ने आयोगले जनाएको छ ।  त्यस्तै आयोगले मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचार प्रसार निषेध अवधि तोकेको छ ।