६ मंसिर २०८१, बिहिवार

‘जलवायुजन्य मुद्दामा मिडियाको प्रभावकारिता बढाऔं’

६ मंसिर २०८१, बिहिवार
Image

बाकु । जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ।

मिडियाको सशक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञले जोडदिएका हुन्।

बिहीबार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ : जलवायु न्यायका लागि दिशा निर्देश’ विषयक अन्तरक्रियामा विज्ञले जलवायुजन्य विषयमा मिडियाको प्रभाव विश्वब्यापी बनाउन आग्रह गरिएको छ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा समन्वयात्मक ढंगले काम भइरहेको जानकारी दिए। ‘जलवायु परिवर्तनको मुद्दा सबैको हो भन्ने अनुभुति गराउने प्रयासमा छौं,’ ढुंगानाले भने, ‘जलवायुको मुद्दा सवैको सरोकारको विषय भएकाले न्यायका लागि सबै सकारात्मक हुन जरुरी छ।’

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नेपालका जलवायु सम्बन्धि मुद्दा विश्वब्यापी गराउन मिडियालाई साझेदारका रुपमा अगाडि बढाउन आग्रह गरे। ‘जलवायु न्याय समग्र नेपालको विषय हो। समस्याको विश्वब्यापीकरणका लागि मिडियाको विकल्प छैन,’ महाप्रबन्धक ऐरीले भने, ‘यो सवालमा राज्यले नै मिडियाको भुमिका प्रवर्द्धनमा ध्यानदिनु आवश्यक छ।’

कार्यक्रममा न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेलले पछिल्लो समय सञ्चारमाध्यमहरुले जलवायु परिवर्तनका मुद्दालाई विशेष रुपले उठाउने गरेको बताइन्। उनले सरकारको तर्फबाट पनि सञ्चारमाध्यमसँग जलवायु परिवर्तनसम्बन्धी मुद्दामा समन्वय गर्नसके जलवायुजन्य असरको न्यूनिकरण गर्न सहयोग पुग्ने बताइन्।

कार्यक्रममा ओबिआइटी, डब्ल्यूडब्ल्यूएफ नेपालका नेशनल प्रोजेक्ट म्यानेजर राजन थापाले नागरिक र सरकारबीचको ग्याप मिडियाले निभाउनुपर्ने बताए। उनले जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरुबारे जनस्तरमा सचेतना फैल्याउनका लागि पनि मिडियाको भुमिका महत्त्वपूर्ण हुने बताए।

सम्मेलनमा नेपाली सञ्चारमाध्यमलाई पनि प्रभावकारी बनाउने गरी नीति बनाउन जरुरी रहेकोमा सहभागीले जोडदिएका छन्। कार्यक्रममा बाकुमा रहेका नेपाली प्रतिनिधि, संचारकर्मीलगायत नेपालबाट विभिन्न क्षेत्रका युवाको भर्चुयल सहभागिता थियो।