९ मंसिर २०८१, आइतवार

चिया बगानले हडपेको जग्गा ३३ वर्षपछि फिर्ता जग्गा

७ मंसिर २०८१, शुक्रवार
Image

झापा, ६ मङ्सिर  मेचीनगर नगरपालिका वडा नं. ५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्ष अघि हडपेको दश बिगाहा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काइएको छ ।

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहरु, सञ्चारकर्मी र जेसीबीसहित जग्गा रहेको चिया बगानमा पुगेर विहिवारदेखि उक्त जग्गा नेपाल सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गर्नुभयो ।

नगरप्रमुखसँगै गएका नगरप्रहरीले उक्त सरकारी जग्गाको क्षेत्रफल अंकित साइनबोर्ड राखेका छन् । नगरप्रमुख बुढाथोकीले नेपाल सरकारको नाममा कायम भइसकेको जग्गा चिया बगानले बिनासित्ती भोगचलन गरिरहेको हुँदा अबोप्रान्त नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने सन्देश सार्वजनिक गर्न साइनबोर्ड राखिएको बताउनुभयो ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले जनाए अनुसार हाल चिया बगान रहेको उक्त जग्गा वि.सं. २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए । ऐलानी पर्ती रहेको जग्गालाई कानुले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टी इस्टेटलाई वि.सं. २०५५ असोज ११ गते विक्री गरेका थिए ।

सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं. २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी नेपाल सरकारको कायम गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकारको स्वामित्व कायम गर्ने अख्तियारको निर्णय आइसकेपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले वि.सं. २०६६ पुस ६ गते सरकारी रेकर्डबाट नकलबन्दाको लगत कट्टा गरी नेपाल सरकारको नाम समावेश गरेको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

चिया बगानले हडपेको ३३ वर्षपछि र नेपाल सरकारको लगत कायम भएको १५ वर्षपछि मेचीनगर नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाएको हो ।
नगरपालिकाको संरक्षणमा आएको जग्गामा हराभरा चियाका बोट र ठूला रुखहरु छन् । लगाइएको बाली उठाएर जग्गा खाली गरिदिन मेचीनगर नगरपालिकाले नकलबन्दा टी इस्टेटलाई दुईपटक पत्राचार गरिसकेको जनाएको छ ।

“अब यो जग्गा नगरपालिकाको संरक्षणमा आएको घोषणा गर्दछु,” नगप्रमुख बुढाथोकीले भन्नुभयो–“सरकारले सँधैभर उहाँहरु (चिया बगान सञ्चालक)लाई भोग गर्न दिइरहने कुरा आउँदैन । जग्गाको बहुउपयोग कसरी गर्न सकिन्छ भनेर कार्यपालिकामा छलफल र निर्णय गरेर अघि बढ्नेछौं ।”
नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाए तापनि अहिलेसम्म जग्गाको सीमाना यकिन भइसकेको छैन । साविक नकलबन्दा गाउँ पञ्चायतको वडा नं. ७ का कित्ता नम्बरहरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१ र २३२ को जग्गा नकलबन्दा टी इस्टेटबाट सरकारको नाममा आएको हो ।