९ माघ २०८१, बुधवार

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

८ मंसिर २०८१, शनिवार
Image

झापा, ८ मङ्सिर । । सशस्त्र प्रहरी वलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छली गर्ने गतिविधि नियन्त्रणका लागि सक्रियता बढाएको छ । यसका लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।

मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको १४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी वलका चार वटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बीओपी)हरु तैनाथ रहेको सशस्त्र प्रहरी वल २ नं. गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले बताउनुभयो ।

सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी वलले झापाको सीमावर्ती २१ वटा वडाहरुमा वडास्तरीय सहजिकरण समिति गठन गरेको छ ।

चालू आर्थिक वर्षको चार महिनामा सशस्त्र प्रहरी वलको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरुले रु. चार करोड ७८ लाख ४३ हजार ५५३ मूल्य बराबरको कर बिजक नभएको अबैध सामान बरामद गरेर भन्सारमा दाखिला गरेको उहाँले बताउनुभयो । 

बरामद भएका मालसामानहरुमा लागू औषध, मदिरा, लत्ताकपडा, सवारी साधन, चौपाया, मोटर पार्टस्, सुर्तीजन्य पदार्थ, हार्डवेयर, मासुजन्य, किराना सामान लगायत रहेका छन् । 

गत आव २०८०÷०८१ मा सशस्त्र प्रहरी वलले झापामा भन्सार छलेर भित्राइएको रु. ११ करोड १० लाख ८४ हजार मूल्य बराबरको मालसामान बरामद गरेको थियो । उक्त अवधिमा लागू औषधका १०४ जना कारोवारी, ८१ वटा चौपाया, १२ वटा सवारी साधन, ७८९ गोलिया काठ र २४ बोरा पटाका समातिएका थिए ।

उहाँका अनुसार शुक्रवार कचनकबल गाउँपालिका वडा नं. ५ निवासी ४० वर्षीय नजाम खातुनको घरमा भारतबाट भन्सार छलेर ल्याइएको सामान लुकाएर राखिएको सूचना पाएपछि घेराबारी गुल्मबाट खटिएको सशस्त्र प्रहरी वलको टोलीले रु. १२ लाख २० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ ।

वलको काँकडभिट्टास्थित सीमा सुरक्षा गुल्मले मेचीनगर–६ मा शुक्रवार नै रू. एक लाख ८० हजार मूल्य बराबरको सुपारी वेवारिसे अवस्थामा फेला पारेको छ । सुपारी नेपालबाट भारत लैजान प्रतिबन्ध छ । तर, तस्करहरुले सीमा सुरक्षाकर्मीको आँखा छलेर भारत लैजाने गरेका छन् ।

सुपारीसँगै रु. ५७ हजार मूल्य बराबरको पाँच हजार ८६ वटा विभिन्न फूलका विरुवा सीमा क्षेत्रबाट वेवारिसे अवस्थामा फेला पारेको थियो । केही दिन अघि भन्सार छलेर भित्राइएको ठूलो मात्राको मदिरा समेत सशस्त्र प्रहरी वलले बरामद गरेको थियो ।

पछिल्लो समय लागू औषधको ओसारपसार बढेको छ । सशस्त्र प्रहरी वलको काँकडभिट्टा गुल्मले यस्ता गतिविधि नियन्त्रणका लागि पूर्वीनाकामा चेकजाँचका लागि जोजो नामक तालिम प्राप्त कुकुर समेत परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।

काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागू औषधको ओसारपसार रोक्न सहज भएको बताइएको छ । चार महिनाको अवधिमा झापामा सशस्त्र प्रहरी वलले लागू पदार्थ ओसारपसारमा संलग्न ५४ जना व्यक्ति र त्यस कार्यमा प्रयोग भएका आठ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।

“सिटी सफारी, स्कुटर र मोटरसाइकलमार्फत मेची पुल पार गर्ने शंकास्पद व्यक्तिहरुको शारीरिक तलासी र निगरानी गर्न मानवीय जनशक्तिलाई सहज हुन्छ,” सूचना अधिकारी रसाइली भन्नुहुन्छ–“तर कतिपय व्यक्तिले मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने गरेका छन् । त्यस्तो अवस्थामा तालिमप्राप्त कुकुरको सहयोग प्रभावकारी हुन्छ ।”

कात्तिक २९ गते काँकडभिट्टाको मेची पुलमा तालिम प्राप्त कुकुरको सहायताले भारतबाट सिटी सफारी चढेर नेपाल आउँदै गरेका तीन जना व्यक्तिको मलद्वारबाट ब्राउन सुगर बरामद गरिएको थियो । मलद्वारमा प्लास्टिकको पोको पारी ब्राउन सुगर तस्करी गर्नेहरु मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं. ७ का २२ वर्षीय हिराप्रसाद जैसी, मेचीनगर–१० का ३३ वर्षीय नेसरु मिया र दमक–३ का २५ वर्षीय मनिष धिमाल रहेका छन् ।

झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट तस्करहरुले भन्सार छलेर लागू औषध, लत्ताकपडा, मदिरा, मलखाद लगायतका सामान नेपाल भित्राउने क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी वल आपसी सहकार्यका साथ नियन्त्रणमा खटिएका छन् ।

सशस्त्र प्रहरी वलले सीमाको सुरक्षा, अन्तर सीमा अपराध नियन्त्रण, मानव तस्करी नियन्त्रण, हातहतियार तस्करी नियन्त्रण लगायतका कार्यमा ध्यान केन्द्रित गर्दै आएको रसाइलीले बताउनुभयो ।

तेस्रो मुलुकका नागरिकबाट हुनसक्ने घुसपैठ समेत सशस्त्र प्रहरी वलले नियन्त्रण गर्दै आएको छ । कात्तिक २८ गते भारतको पानीटंकीबाट नेपालतर्फ बिना प्रवेशाज्ञा घुसेका दुई जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरी वलको सीमामा तैनाथ टोलीले नियन्त्रणमा लिएर अध्यागमन कार्यालयमा अनुसन्धानका लागि बुझाएको थियो ।–––

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।