८ मंसिर २०८१, शनिवार

भ्वाङ परेको हडिया पुलमा श्रमदान गरे सर्वसाधारणले

८ मंसिर २०८१, शनिवार
Image

मेचीनगर, ८ मंसिर । मेचीनगर र भद्रपुरका सीमानामा भ्वाङ परेको हडिया पुलमा आज सर्वसाधारणले श्रमदान गरेका छन् ।

स्वतन्त्र नागरिक समाजले पुल मर्मतको क्रममा हालिएको माटोको ढिस्काहरु सम्याउन र सरसफाई गर्न श्रमदानका लागि आह्वान गरेको थियो ।

विहान ८ बजेतिर भेला भएका सर्वसाधारणले पुलको भत्किएको भागमा सिमेन्टको बोरामा मिक्स गिटी भरेर पर्खाल लगाएका थिए । 

उनीहरुले पुल वरपर सरसफाई समेत गरेका थिए । 

धुलाबारी–भद्रपुर सडकमा रहेको हडिया पुलमा डेढ वर्षअघि नै भ्वाङ परेको थियो । तर, त्यसको मर्मत सम्भारतर्फ सरकारी निकायले चासो बढाएका थिएनन् ।

पाँच दिन अघि भ्वाङ बढेर यातायात नै अवरुद्ध भएपछि मात्र सरकारी निकायले पुलका विषयमा चासो देखाएका हुन् । शुक्रवार टिपरबाट बालुवा र ढुंगा भरेर भ्वाङ टालिएको थियो भने यातायात खुलाइएको थियो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले चार दिन अघि पुलको संयुक्त निरीक्षण गर्नु भएको थियो ।

पुलको भत्किएको स्थानमा कामचलाउ रुपमा माथिबाटै यातायात चल्न सक्ने बनाइए पनि ठूला सवारी साधन चलाएमा पुल फेरि भासिएर गम्भीर दुर्घटना हुनसक्ने प्राविधिकहरु बताउँछन् ।

“पुलको पश्चिमी भाग भासिएको देखिन्छ,” एक जना प्राविधिक भन्नुहुन्छ–“फलामको बलियो बिम राखेर माथिबाट बेलीब्रिज स्टायलले मर्मत सम्भार गर्न सके ठूला गाडी चलाउन अस्थायी रुपमा सकिन्छ । तर, अहिलेकै अवस्थामा बालुवा भरेर केही हुनेवाला छैन । पुलमुनि भ्वाङ परेकाले माथिबाट बालुवाले पुरेर बलियो हुँदैन ।”