१९ मंसिर २०८१, बुधवार

रुद्राक्षको मालाबाट बन्यो ५१ फिट अग्लो शिवलिङ्ग

१३ मंसिर २०८१, बिहिवार
Image

झापा, १३ मङ्सिर । कोशी प्रदेशको सय गन्तब्य सूचीमा रहेको धार्मिक पर्यटकीय स्थल शताक्षीधाममा पर्यटक आकर्षित गर्न रुद्राक्षको मालाबाट ५१ फिट अग्लो शिवलिङ्ग निर्माण भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित शताक्षीधाममा निर्मित उक्त शिवलिङ्गमा एक करोड २५ हजार वटा रुद्राक्षका दाना प्रयोग भएको छ । शिवलिङ्गको उचाई ५१ फिट रहेको छ ।

गोलोक गोवर्धन गौशालाले निर्माण गरेको यस शिवलिङ्गमा नेपालका ५१ वटा जिल्ला, भारतको सिक्किम, दार्जीलिङ, गान्तोक, मणिपुर, आसाम लगायतका ठाउँबाट संकलन गरिएको रुद्राक्ष प्रयोग गरिएको छ । भूटान र म्यान्मारका हिन्दू धर्मावलम्बीबाट समेत शिवलिङ्गमा सजाउन रुद्राक्षका माला प्राप्त भएको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले बताउनुभयो ।  

महाभारतकालमा गुप्तबास बसेका बेला पाँच पाण्डवले सय आँखा भएकी सतिदेवीको पूजा आराधना गरेको किम्वदन्ती जोडिएको स्थान भएकाले शताक्षीधाममा निर्मित ५१ फिट अग्लो शिवलिङ्गले देशबाहिरका धार्मिक पर्यटकलाई समेत आकर्षण गर्ने अपेक्षा गरिएको छ ।

फलामको फ्रेममा वरिपरि रुद्राक्षको माला लगाएर शिवलिङ्ग निर्माण गरिएको हो । सताक्षीधाममा यही मङ्सिर १४ देखि २४ गतेसम्म आयोजना हुने ‘सताक्षी गोरक्षा महोत्सव २०८१’मा ५१ पिट अग्लो रुद्राक्ष निर्मित शिवलिङ्ग प्रमुख आकर्षण बन्ने गौशालाका संरक्षक नन्दकिशोरजी महाराजले बताउनुभयो । यस शिवलिङ्गको निर्माणमा गौशालाको रु. १७ लाख २० हजार खर्च भएको जनाइएको छ ।


यसैगरी, शताक्षीधाममै सय वटा आँखा भएकी शताक्षी देवीको नामबाट शताक्षी धारा निर्माण गरिएको छ । जहाँ स्नान गर्न सकिने ८७ वटा जलधारा रहेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विहीवार एक समारोहबीच धार्मिक तथा पर्यटकीय स्थल शताक्षीधाममा नवनिर्मित ‘शताक्षी धारा’ (८७ वटा धारा)को उद्घाटन गर्नुभयो । 

दाताहरुले यी धारा निर्माण गरेका हुन् । मुख्यमन्त्री कार्कीले शताक्षी धाराको जलअभिषेक गर्नुको साथै शताक्षीधामस्थित दिगम्बेश्वर महादेव र शाकम्बरी देवीको मन्दिरमा पूजा अर्चना गर्नु भएको छ ।

उहाँले धाममा निर्माण हुने अतिथि गृहको समेत विहीवार शिलान्याश गर्नुभयो । शिवसताक्षी नगरपालिका, कोशी प्रदेश र दाताहरुको सहयोगमा तीन तला र ५१ कोठाको अतिथि गृह निर्माण गरिने भएको छ । अतिथि गृह निर्माणका लागि गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले रु. १० लाख सहयोगको घोषणा गर्नुभएको छ ।

शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमले धाममा आउने भक्तजनलाई स्नानका लागि धामको पौराणिक कथासँग मिल्दोजुल्दो ८७ वटा धारा निर्माण गरिएको बताउनुभयो ।

महाभारतकालीन कथामा पाँच पाण्डवले बनबासकालमा आश्रय लिएर सय आँखा भएकी शताक्षीदेवीको पूजा आराधना गरेको पवित्र स्थानको रुपमा शताक्षीधामको महत्त्व वर्णन भएको बोखिमले बताउनुभयो ।

शताक्षी धारामा धाम नजिकैको शताक्षी गंगाबाट जल ल्याइएको छ । धामको मन्दिरमा पूजा र धारामा स्नान गरेपछि शताक्षीधामको पूजा पूर्ण हुने गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजको भनाई छ ।