११ पुष २०८१, बिहिवार

विर्तामोडका छ वटा सडक स्तरोन्नति धमाधम

१६ मंसिर २०८१, आइतवार
Image

झापा, १६ मङ्सिर । विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रम अन्तर्गत छ वटा सडक र एउटा भवनको स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।

सहरी विकास मन्त्रालयले महिला नगरप्रमुख भएको कारण विर्तामोड नगरपालिकालाई चालू आर्थिक वर्षमा उक्त कार्यक्रममा रु. १३ करोड बजेट विनियोजन गरेको थियो । 

जसमध्ये रु. छ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा छ वटा सडक स्तरोन्नतिको ठेक्का लागेर कालोपत्रे सुरु भएको नगरप्रमसख पवित्रा महतरा प्रसाईले बताउनुभयो । सडक स्तरोन्नतिका योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा रहेका छन् ।

बाँकी रकमबाट वडा नं. ६ को हरियाली सामुदायिक बनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवनको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । 

नगरप्रमुख प्रसाईका अनुसार वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा बिद्युतका खम्बा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक र वडा नम्बर ८ को गरामनी– कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडकमा कालोपत्रे लगाउने काम सुरु भएको निर्माण व्यवसायी नयन बरालले जानकारी दिनुभयो ।

बरालकै उद्देश्य निर्माण सेवाले ती छ वटै सडक र सामुदायिक भवन निर्माणको ठेक्का पाएको हो । उहाँले पूर्व पश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी एभरेस्ट स्कुल हुँदै बिर्ताबजार जोड्ने सडकको एक हजार २४० मिटर खण्ड निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । 

वडा नम्बर ६ स्थित हरियाली सामुदायिक वनमा सामुदायिक भवन भने निर्माणधिन अवस्थामा रहेको छ । सघन सहरी विकास कार्यक्रम अन्तर्गतका सबै परियोजना निर्धारित समयावधिमै गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि आफूले नियमित अनुगमन गरिरहेको नगरप्रमुख प्रसाईले बताउनुभयो ।

सात वटै परियोजनाको नगरप्रमुख प्रसाईले गत भदौ २० गते एकमुष्ठ शिलान्यास गर्नु भएको थियो । निर्माण व्यवसायी बरालले आगामी बैशाखसम्ममा सबै परियोजना सम्पन्न हुने लक्ष्यका साथ धमाधम काम भइरहेको जानकारी दिनुभयो । वि.संं २०८२ फागुन १९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।