झापा, १८ मङ्सिर । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत झापाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्रको निर्माण धमाधम भइरहेको छ ।
अर्जुनधारा, विर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका वडा नं. १ मा निर्माणाधीन उक्त परियोजनाको कूल लागत रु. पाँच करोड २० लाख रहेको छ । स्वीट्जरल्यान्ड सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् ।
उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चारवटा दमकल, एउटा शववाहन, प्रहरी वाहन र तीन वटा साना वाहन रहने अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले बताउनुभयो । वाहन मर्मत गर्ने ग्यारेज, पानी जम्मा गर्ने रिजर्भियर, विपद् सामग्री भण्डारण गर्ने गोदाम, प्रहरी, कामदार र कर्मचारी बस्ने आवास, हेलीप्याड, प्रशासनिक भवन लगायतका पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, स्वीट्जरल्यान्ड सरकारको २० प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको ६ प्रतिशत र अन्य तीनवटा नगरपालिकाको २४ प्रतिशत लगानी रहने विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा प्रसाईले बताउनुभयो ।
कालिका इन्जिनियरिङ जेभीले ठेक्कामा निर्माण गरिरहेको उक्त परियोजनाको सोमवार साझेदार चार वटै पालिकाका जनप्रतिनिधिले अनुमगन गरेका छन् । सञ्चालन कार्यविधि अनुसार परियोजनाको सञ्चालन र रेखदेख चार वटै स्थानीय तहले मिलेर गर्ने र उपयोग भने त्यसभन्दा बाहिरका पालिकाले पनि गर्न सक्नेछन् ।
वि.सं. २०८० मङ्सिरमा सुरु गरिएको उक्त परियोजना दुई वर्षभित्र निर्माण भइसक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ । हाल परियोजनाको भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४० प्रतिशत रहेको परियोजनामा कार्यरत इन्जिनियर नीता नेपालले जानकारी दिनुभयो ।
झापाको केन्द्रीय भूभाग पारेर अर्जुनधारामा निर्माण गरिने विपद् व्यवस्थापन केन्द्रबाट जिल्लाको १५ वटै पालिका र छिमेकी इलाम र मोरङ जिल्लाबासी समेत लाभान्वित हुने कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल बताउनुहुन्छ ।
केन्द्रमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल, एम्बुलेन्स, डुंगा, शब वाहन र अन्य उपकरणहरुसहित चौबीसै घण्टा प्रहरी जनशक्ति तैनाथ रहने भएकाले कुनै पनि विपद्का बेला यसबाट उद्धार कार्यलाई छिटो र व्यवस्थित रुपमा अघि बढाउन सकिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
अन्तरपालिका साझेदारीमा परियोजना सञ्चालन भएकाले यसलाई कोशी प्रदेशको नमुना विकास परियोजनाको रुपमा हेरिएको छ । पालिका एक्लाएक्लैले लगानी गर्न असम्भव हुने र साझा सवालहरुमा मिलेर लगानी गर्ने अवधारणा अनुरुप झापाका चार वटा पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्रको निर्माण भइरहेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेब गोम्देन बताउनुहुन्छ ।