६ पुष २०८१, शनिवार

पाँच महिनामै बन्यो कोशी प्रदेशकै लामो झोलुंगे पुल

५ पुष २०८१, शुक्रवार
Image

झापा, ५ पुस । कोशी प्रदेशकै लामो झोलुंगे पुल झापाको बुद्धशान्ति गाउँपालिकामा निर्माण भएको छ । संघीय सरकारको रु. पाँच करोड ९८ लाख ७६१ रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।

बुद्धशान्ति वडा नं. ६ र ७ लाई जोड्ने ४७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’को निर्माण कार्य पाँच महिनाको छोटो अवधिमा सम्पन्न भएको हो । टिमाई नदीमा बनेको उक्त झोलुंगे पुल काठमाडौंको थानी जगदम्बा जेभीले निर्माण गरेको हो । 

सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताले सम्झौतामा वि.सं. २०८३ जेठ २३ गतेसम्म निर्माण अवधि तोकिए तापनि ठेक्का लिएको कम्पनीले शिलान्यास भएको पाँच महिना र सम्झौता भएको छ महिनामै झोलुंगे पुलको निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो ।

“निर्माण व्यवसायी पक्षले निर्माण कार्य सम्पन्न गरिसकेको छ,” उहाँले भन्नुभयो–“सरकारी तहबाट फाइनल चेक हुन बाँकी छ । चाँडै अनुगमन गरेर पुलको हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।”

दुई वर्षमा बनिसक्ने भनिएको झोलुंगे पुल छ महिनामै निर्माण भएको देखेर आफु चकित भएको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का शिवराज पौडेल बताउनुहुन्छ । “हिजो अस्ति जस्तो लाग्छ पुलको शिलान्यास भएको, ठेकेदारले यति छिटो काम सम्पन्न गर्लान् भनेर कल्पना समेत गरिएको थिएन”–पौडेल भन्नुहुन्छ ।

उहाँका अनुसार वि.सं. २०८१ असार २४ गते झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त झोलुंगे पुलको शिलान्यास गर्नु भएको थियो । 

मङ्सिरको अन्तिम सातादेखि पुलबाट सर्वसाधारणले आवतजावत गर्न थालिसकेका छन् । लामो पुल भएकाले घुम्न, फोटो भिडियो खिच्न र बनभोज खान टाढाबाट युवायुवतीहरु आउन थालेकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ ।

पुल बन्नु अघि बुद्धशान्तिको वडा नं. ६ बाट ७ जान स्थानीयबासीले ठूलो सकस भोग्दै आएका थिए । पुल बनेपछि बुद्धशान्तिका वडाबासीलाई आउजाउका लागि मात्र नभएर इलामको रोङ गाउँपालिका वडा नं. ५ र ६ का बासिन्दालाई आफ््नो कृषि उपज झापाको बजारमा पुर्याउन समेत सुविधा पुगेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्तीको गुनासो आउने पाइन्छ । तर, सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाई अवधिमै पुलको निर्माण कार्य सम्पन्न भएकोमा स्थानीयबासी खुशी रहेको पौडेल बताउनुहुन्छ ।

‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डी–टाइप’को झोलुंगे पुल रहेको इन्जिनियर जयप्रकाश गुप्ताले बताउनुभयो । सिराहामा निर्माण भएको एक हजार ५०० मिटर लामो झोलुंगे पुल समेत सोही निर्माण व्यवसायीले तोकिएको समय अगावै बनाएको उहाँले जानकारी दिनुभयो ।

“निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमान्दारीमा निर्भर हुन्छ,” उहाँले भन्नुभयो–“अटेरी प्रवृत्तिका कारण कतिपय काम ढिलो हुन्छन् । ठेकेदारले चाहे भने १८ महिना लाग्ने काम चार महिनामै पनि पूरा गर्न सक्छन् ।”