७ पुष २०८१, आइतवार

अभियन्ता कविता नेपाललाई राष्ट्रिय युवा पुरस्कार

७ पुष २०८१, आइतवार
Image

झापा, ६ पुस । नेपाल जेसीजले यसवर्षको उत्कृष्ट राष्ट्रिय युवा पुरस्कारबाट सामाजिक अभियन्ता, नाट्यकर्मी एवम् परिवर्तन थिएटरकी संस्थापक कविता नेपाललाई सम्मानित गरेको छ ।

आजदेखि इटहरीमा सञ्चालन भएको तीन दिवसीय ५१ औँ जेसीज राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई पुरस्कृत गर्नुभयो ।

पुरस्कारको नगद रु २० हजार र सम्मान पत्र रहेको छ ।

जातीय छुवाछुत मुक्त अभियान र समाज रुपान्तरणमा पुऱ्याएको योगदानका लागि नाट्यकर्मी नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताउनु भयो।

सोही अवसरमा नेपाल जेसीजले राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्रीलाई पनि सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओली र नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेलले दुवै जना प्रतिभाहरुलाई सम्मान गर्नु भएको थियो ।

पुस ६, ७ र ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महाधिवेशनले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्दैछ ।