झापा, ८ पुस । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्ने राजबंशी समुदायकी प्रथम नेपाली (पहिलो राजबंशी विश्व सुन्दरी) मनिषा राजबंशीले शिक्षामा जोड दिन आफ्नो समुदायलाई आग्रह गर्नु भएको छ ।
मेचीनगर प्रेस क्लवमा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै 'हेरिटेज पेटाइट युनिभर्स २०२४' की बिजेता राजबंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण आफुले कसैले पनि कल्पना गर्न नसकेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको बिजेता बनेको बताउनुभयो ।
‘बाह्रदशीको गाउँमा हुर्किएकी म आज अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उभिएर नेपालको शान र मान बढाउन सक्षम भएकी छु,’ उहाँले भन्नुभयो–‘यसको पहिलो कारण शिक्षा नै हो । त्यसपछि घर परिवारको प्रोत्साहन र समाजको समर्थन । शिक्षा नै मेरो सफलताको आधार हो ।’
हालै थाइल्यान्डको बैंककमा आयोजित उक्त प्रतियोगितामा भारत, मेक्सिको, जापान लगायत ४४ मुलुकका सहभागीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए । नेपालकी मनिषा राजबंशी सबैलाई उछिन्दै बिजेता बन्नु भएको थियो । उहाँले यसअघि ‘मिस राजबंशी’को उपाधि समेत जितिसक्नु भएको छ ।
झापाको बाह्रदशीस्थित कुमाई गाउँमा जन्मनु भएको उहाँ हाल रत्न राज्य लक्ष्मी क्याम्पसमा समाजशास्त्रको स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ ।
छ वर्ष अघि उहाँले लोकतन्त्र पोस्ट दैनिकमा पत्रकारिता समेत गर्नु भएको थियो । आजको पत्रकार सम्मेलन लोकतन्त्र पोस्टको मातृ संस्था काजी मिडिया एन्ड टेक्नोलोजीले आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा उहाँले बाह्रदशीको गाउँबाट आफ्नो बौद्धिक प्रतिभा निखार्दै थाइल्यान्डमा पुगेर अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि जित्न कस्तो संघर्ष गर्नु पर्यो भन्ने विषयमा पत्रकारहरुले सोधेको प्रश्नहरुको उत्तर दिनु भएको थियो ।
उहाँले आफु क्षेत्री बाहुनहरुको बाक्लो बस्ती रहेको गाउँमा हुर्किएको जनाउँदै आमा उर्मिला राजबंशीले हरहालतमा पढ्नका लागि प्रेरित गरेको कारण आज सफल बनेको बताउनुभयो ।
सौन्दर्य प्रतियोगिता जितेको श्रेय उहाँले आमा उर्मिला र हजुरआमा दिनु राजबंशीलाई दिनुभयो । राजबंशी समुदायमा छोरीलाई शिक्षा हासिल गर्न र मोडलिङ जस्तो विधामा खुलेर अघि बढ्ने सहज वातावरण नभएको उहाँको गुनासो थियो ।
‘खुलेर बोल्दा र हक्की भएर समाजमा अघि बढ्दा समाजमा कुरा काट्ने र खुट्टा तान्नेहरु निस्किन्छन्,’ उहाँले भन्नुभयो–‘मलाई मेरी आमाले समाजमा अघि बढ, म तिम्रो लागि छु भनेर आत्मविश्वास दिनुभयो । कसले के भन्यो, के नकारात्मक टिप्पणी गर्यो भन्ने विषयमा म वास्तै गर्दिन । आफु ठिक हुनुपर्छ, अरुले कुरा काटेर केही फरक पर्दैन भन्ने मलाई राम्ररी ज्ञान छ ।’
थाइल्यान्डमा हेरिटेज पेटाइट युनिभर्स २०२४को आयोजना भइरहेका बेला आफुले राजबंशी समुदायको भाषा, कला, पहिरन र संस्कृति प्रस्तुत गरेको जनाउँदै उहाँले ४० देशका प्रतिष्पर्धीहरुमा म नै प्रथम हुन्छु भन्ने चाहिँ कल्पना नगरेको बताउनुभयो ।
‘हेरिटेज पेटाइट युनिभर्स २०२४ को विनर नेपाल भनेर एनाउन्स हुँदा सुरुमा मैले पत्याउनै सकेकी थिइन,’ अनपेक्षित खुशीले आफु रातोपिरो बनेको अनुभूति सुनाउँदै उहाँले भन्नुभयो–‘यत्रो कन्टेस्टमा म कसरी प्रथम हुन्छु होला भन्ने लागेको थियो । साथीहरुले जाउ जाउ तिमीलाई उद्घोषकले बोलाइरहेका छन् भनेपछि उठेर म स्टेजमा पुगेकी थिएँ ।’
नेपाल र राजबंशी समुदायलाई मोडलिङको माध्यमबाट चिनाउन पाएकोमा गर्व लागेको बताउँदै उहाँले आगामी दिनमा सौन्दर्य प्रतियोगितामा सहभागी नहुने जानकारी दिनुभयो । मोडलिङ आफ्नो सानैदेखिको सपना भएको उहाँले बताउनुभयो ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजबंशी समाज विकास समितिका अध्यक्ष उत्तम राजबंशी, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन काजी मिडियाकी सञ्चालक एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको उपाध्यक्ष अम्बिका भण्डारीले गर्नु भएको थियो ।