१३ पुष २०८१, शनिवार

दशगजा वारिपारि पहेँलपुर तोरीबारी

१२ पुष २०८१, शुक्रवार
Image

झापा, १२ पुस । मेचीनगर नगरपालिका वडा नं. ७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०/२ पीपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको पहेँलपुर तोरीबारीमा पुग्ने गर्छ ।

चार वर्षअघि नेपाल र भारत दुबै मुलुकले दशगजा क्षेत्र खाली राख्ने निर्णय गरेसँगै गैरीगाउँको दशगजा क्षेत्र बालबालिकाका लागि खेल मैदान जस्तै भएको छ भने स्थानीयबासीको गाईबाख्रा चराउने चरन बनेको छ । तीन दशक अघि सीमा अद्यावधिक गर्ने क्रममा ९०/२ पीपी ५० नम्बरको सीमा स्तम्भ गाडिएको थियो । गैरीगाउँको माझमा गाडिएको उक्त सीमा स्तम्भले स्थानीय बासिन्दालाई दुई देशको फरक भूगोलमा बाँडिदियो । अहिले गाउँको आधा भाग भारततिर परेको छ ।

स्थानीय कुलप्रसाद तिवारीको डेढ बिगाहा जग्गा त्यहीबेलादेखि सीमा पारि भारतमा पर्यो । नेपाल र भारत दुबैतिर उहाँको खेतीपाती चलिरहेको छ । सीमा अद्यावधिक हुनु अघि दुबैतिरको जग्गाको उहाँसँग नेपाली धनीपूर्जा थियो । उसबेला तिवारीले सरकारी मालपोत नेपालमै बुझाउनु हुन्थ्यो । तर, गैरीगाउँको माझमा सीमा स्तम्भ ठडिएपछि उहाँको जस्तै दर्जनौं बासिन्दाले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय भूभाग ठहरियो ।

तिवारीको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । तोरीबारीको माझमा रहेको दशगजामा स्थानीय बालबालिका विद्यालय छुट्टि हुनासाथ क्रिक्रेट, फुटबल, भलिवल र कबड्डी खेल्न दिनहुँ झुत्तिन्छन् ।

“खेल्दाखेल्दै कहिलेकाहिँ इन्डियातिरका एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्षा बल)का अङ्कलहरु आउनुहुन्छ, कहिले नेपालका सशस्त्रको अङ्कलहरु आउनुहुन्छ,” काँकडभिट्टा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत् पार्वती ठकुरी भन्छिन्– “दशगजा होस् कि बीसगजा होस्, हामीलाई खेल्न पाए भयो । अङ्कलहरुले राम्ररी खेल्नु भनेर हौस्याउनुहुन्छ । हामीलाई त उहाँहरुसँग केही डर लाग्दैन ।”

गैरीगाउँमा नेपाली धनीपूर्जा भएको पचासौं बिगाहा जग्गा सीमा अद्यावधिकका कारण भारतीय भूमिमा परेको विवादास्पद प्रसंगले बेलाबेला सञ्चारमाध्यममा चर्चा पाउने गरेको छ । तर, गाउँमा भने विवाद र भयको कुनै छनक छैन । नेपाली नागरिकता, जग्गा धनीपूर्जा र बिजुलीका मिटर रहेका दर्जनभन्दा बढी स्थानीयबासीको घर अहिले भारतीय भूमिमा छ । 

“चार वर्ष अघिसम्म दशगजा क्षेत्रमा यतिबेलाको सिजनमा तोरीको फुलले पिल्लर नै छोपिएला जस्तो हुन्थ्यो,” गैरीगाउँको दशगजामै आँगन जोडिएका ५१ वर्षीय श्याम बाँतर भन्नुहुन्छ– “अहिले दशगजा खाली गराइएको छ । मेरो घरको आँगन नै दशगजामा परेको छ । मानिसहरुले दशगजामा खेतीपाती गर्न छाडेका छन् ।”

गैरीगाउँमा ३० वर्षदेखि बसोबास गर्दै आउनु भएका उहाँले रिक्सा चलाएर आर्जेको पैसाले जोडेको १० धुर जग्गामध्ये अढाई धुर दशगजामा परेको बताउनुभयो । दशगजाको दुबैतर्फ ३०÷३० फिट जग्गा खाली गराउने दुबै देशबीच सहमति भएको छ । सरकारी अधिकारीहरुले दशगजामा परेको आँगन पनि खाली गरिदिन आग्रह गरिरहेको उहाँको भनाई छ ।

भारततिरबाट एसएसबीको गस्ती नियमित रुपमा दशगजा क्षेत्रमा आउने गरेको र घर कसको भनेर सोध्ने गरेको उहाँले जानकारी दिनुभयो । दशगजामा आँगन जोडिएको बाँतर परिवारलाई सीमाको बसोबास शान्त नै लागेको छ । कहिलेकाहिँ वारिपारि धन्धा गर्नेहरुसँग नेपाली सुरक्षाकर्मीहरुको घम्साघम्सी पर्ने बाहेक सीमावर्ती गैरीगाउँका बासिन्दाले अन्तरदेशीय भूगोलका कारण कुनै सकस अनुभव गरेका छैनन् ।

गैरीगाउँका ३१ वर्षीय टिका चौधरी हजुरबुवाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफुहरुको घर खेत सबै भारततिर परेको बताउनुहुन्छ । भारतीय भूमिमा परेको गैरीगाउँका बासिन्दाका बालबालिकाहरु पढ्नका लागि काँकडभिट्टाको सरकारी र निजी विद्यालय नै धाउने गर्छन् । चौधरी दिनहुँ दशगजा पार गरेर मेची भन्सार कार्यालयमा लोड अनलोडको मजदुरी गर्न आउने गर्नुहुन्छ । भारततिर घर र जग्गा परे तापनि नेपालकै विद्युत र पानी प्रयोग गरिरहेको चौधरीले बताउनुभयो ।

दश वर्ष अघि झापाको दक्षिणी गाउँ पृथ्वीनगरबाट सस्तोमा घडेरी खोज्दै गैरीगाउँमा सपरिवार बसोबास गर्न आउनु भएकी देवी पाण्डेले भारतीय सुरक्षा बल एसएसबीको गस्ती दशगजा नाघेर कहिल्यै पनि नेपालतिर नआएको बताउनुभयो । पाण्डेको घर दशगजामै जोडिएको छ ।

“एसएसबीहरु दशगजा पारि नै डुल्छन्, प्यास लाग्यो भने सीमापारिबाटै पानी माग्छन्,”, उहाँले भन्नुभयो–“बोतलमा पानी भरेर लगिदिन्छौं । नराम्रो कहिल्यै गरेका छैनन् ।” नेपाली सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको एउटा टोलीले उहाँको घर छेउमै टहरा बनाएर रातोदिन पहरा दिने गरेको छ ।

सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले रातोदिन पहरा दिएका कारण गैरीगाउँका बासिन्दाले सुरक्षित अनुभूति गरेको पाण्डेले बताउनुभयो । उहाँका तीन छोराछोरी काँकडभिट्टा माध्यमिक विद्यालयमा पढ्ने गर्छन् । उहाँका पति भाडाको सवारी साधन चलाउने गर्नुहुन्छ ।

“बसाई सरेर आएको बेला दशगजा भन्ने नै थाहा थिएन,” उहाँले भन्नुभयो–“घडेरीको पूर्वी सीमामा बडेमानको पिल्लर ठडिएको देख्दा सुरुमा निकै डर लागेको थियो । घडेरी त इन्डियामा पर्योे कि भनेर सोध्न जाँदा दशगजाबाट पश्चिमतिर नेपाल नै हो भनेर छिमेकीले मलाई आश्वस्त बनाएका थिएँ ।”

दशगजामै घर जोडिएको गैरीगाउँकी ६५ वर्षीया होमादेवी खनालले गाउँका बासिन्दा भारत र नेपाल जतातिर घरजग्गा परे तापनि मिलेर बसिरहेको बताउनुभयो । “हिँड्ने बाटो र सौदा किन्ने बजार एउटै छ,” उहाँले भन्नुभयो–“भारततिर घर भएकासँग ऐचोपैचो चलिरहेकै छ । आउजाउमा कुनै अप्ठेरो छैन । खेतीपाती दुबैतिरकाले जता गएर पनि गरिरहेकै छन् । कुन भारत, कुन नेपाल भन्ने सीमा पिल्लरले मात्रै छुट्याएको छ ।”

गैरीगाउँका अधिकांश बासिन्दा खेतीपाती र मजदुरी गर्छन् । नेपालतिर बसोबास गर्दै आउनु भएको ७७ वर्षीय टंकबहादुर राई दिनहुँ दशगजा पार गरेर भारतीय भूमितिर परेको आफ्नो जग्गामा तरकारी खेती गोडमेल गर्न जानुहुन्छ ।

उहाँले नेपाली धनीपूर्जा भएको आफ्नो १२ कठ्ठा नम्बरी जग्गामध्ये सात कठ्ठा मात्र दशगजा वारि रहेको र पाँच कठ्ठा भारतीय भूमिमा परेको बताउनुभयो । भारतीय भूमिमा रहेको जग्गामा उहाँले अहिले टमाटर र सिमी रोप्नु भएको छ । मेचीको बगरमा रहेको उहाँको वर्षौदेखिको भोगचलनको आठ कठ्ठा बगरखेत समेत भारततिरै परेको छ । उक्त बगरखेतमा धान खेती हुँदै आएको छ ।

“जग्गाको धनीपूर्जा नेपालकै थियो, माझमा पिल्लर गाडिएपछि एकै रातमा सीमाना बद्लिएर मेरो जग्गा भारततिर पर्यो,” उहाँले भन्नुभयो–“अहिलेसम्म खनजोत गरेर खाइरहेकै छु । कसैले केही भनेको छैन । एकपटक एसएसबीहरु खेतमा आएर एउटा टमाटर खान पर्यो भनेका थिए । मैले एउटा मात्र किन दुई चार वटै खानुहोस् भनेको थिएँ ।”

सीमा क्षेत्रमा उत्पन्न हुने समस्याहरुको निराकरणका लागि सशस्त्र प्रहरी वलले स्थानीय वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गर्दै आएको छ । स्थानीयबासीले आफ्ना गुनासा र समस्याहरु समितिमार्फत सशस्त्र प्रहरी वलमा पुर्याउने गरेको मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली बताउनुहुन्छ ।

झापामा भारतसँग सीमा जोडिएका २३ वटा वडाहरु छन् । बेलाबेलामा सशस्त्र प्रहरी वलको २ नम्बर गण चन्द्रगढीले वडाध्यक्षहरुलाई सीमाका गुनासाहरुको सम्बोधन गर्नका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको छ । 

“झापाको कचनकबल जस्ता केही सीमा क्षेत्रमा खेतीपाती गर्ने र बाली उठाउने विषयमा वारिपारिका बासिन्दाबीच विवाद हुने गरेको सुनेका छौं,” वडाध्यक्ष ओलीले भन्नुभयो–“तर, हाम्रो गैरीगाउँमा खेतीपातीका विषयमा भारततिरबाट समस्या आएको गुनासो सुनिएको छैन । त्यस्तो कुनै समस्या आइहालेछ भने पनि हामी सशस्त्र प्रहरी वलसँग मिलेर समाधानका लागि तत्कालै सहजीकरण गर्छौं ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।