झापा, १४ पुस । रैथाने उत्पादन तरुलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ‘तरुल उत्सव’ हुने भएको छ ।
माघे संक्रान्ति पर्वको अवसर पारेर यही पुस २९ देखि माघ १ गतेसम्म महोत्सव सञ्चालन हुने वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
चार दशकदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएको बाहुनडाँगीमा हात्तीले नाश नगर्ने बालीको रुपमा तरुलको खेती हुँदै आएको छ । पर्यावरणमैत्री अर्गानिक खेतीबालीलाई प्रोत्साहन हुने र ग्रामीण पर्यटनको प्रवर्धन समेत हुने भएकाले बिगत तीन वर्षदेखि बाहुनडाँगीमा तरुल उत्सव हुँदै आएको कार्की बताउनुहुन्छ ।
उत्सवमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजातिको प्रदर्शनी गरिने र मानव–हात्ती मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा छलफल गरिने उहाँले जानकारी दिनुभएको छ । महोत्सवमा कोशी प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत आगन्तुकहरु आउने भएको उहाँले बताउनुभयो ।
पहाड र तराईको जुनसुकै भूगोलमा फल्ने तरुलमा स्वास्थ्यबर्धक खाद्य तत्व फाइबर प्रशस्त मात्रामा पाइने हुँदा पाचन प्रक्रियासम्बन्धी समस्याको समाधानका लागि यसको उपभोग औषधितुल्य हुने बताइन्छ । बाहुनडाँगीमा स्थानीयवासीले सिमल तरुल, घर तरुल, बन तरुल, पताले तरुल, पिडालुलगायतका विभिन्न जातका तरुलको व्यावसायिक खेती गर्दै आएका छन् ।
विगतमा धान, मकै, कोदो र गहुँ खेती गर्दै आएका यहाँका बासिन्दाले हात्तीबाट बाली जोगाउन पछिल्लो समय बाली परिवर्तन गर्न थालेका छन् । उनीहरुले यतिबेला बाहुनडाँगीमा चिया, तेजपत्ता, सुपारी, मरिच, कागती, तोरी, तरुललगायतका कृषिजन्य नगदे बालीलाई प्राथमिकता दिएको पाइएको छ ।