झापा, १४ पुस । मेचीनगर नगरपालिका वडा नं. १५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपांगता भएको व्यक्तिको रातो परिचय पत्र पाउनु भयो । जन्मेर छ महिना हुँदै शरीरका दुबै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन ।
अपांगता भएका व्यक्तिको परिचय पत्र सरकारले वितरण गर्छ भन्ने थाहै नपाएर आफ्नै कारणले यतिका वर्षसम्म परिचय पत्रबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले अपांगता भएको प्रमाणपत्र पाउनुभयो ।
“ह्वीलचियर बेगर एक पाइलो हिँडडुल गर्न सक्दिन,” अपांगताको रातो कार्ड पाएपछि खुशी हुँदै पाहानले भन्नुभयो–“अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।” नगरपालिकाले शिविरमै उहाँ र उहाँको परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बिमा समेत गरिदिएको मेचीनगरकी महिला, वालवालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।
सरकारले अपांगता भएका व्यक्तिहरुलाई रातो, नीलो लगायतका चार प्रकारको परिचय पत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् भने चारै प्रकारका अपांगता भएका व्यक्तिहरुले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने खरेलले बताउनुभयो ।
स्वास्थ्य शिविर जानुभएका मेचीनगर–१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिएका छन् । “ह्लीचियरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुशी लागेको छ,” उहाँले हर्षित हुँदै भन्नुभयो–“पहिले अर्को कार्ड थियो । अहिले डाक्टरहरुले जाँचेपछि रातो कार्ड दिनुभयो ।”
वडाहरुमा सञ्चालित स्वास्थ्य शिविरमै अपांगताको पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका सयौं व्यक्ति दंग भएका छन् । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा अलगअलग स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपांगता भएका व्यक्तिहरुको पहिचान गरेको छ ।
अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगर लगायत झापाका १५ वटै पालिकामा हाल अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र वितरण शिविर सञ्चालन भइरहेको छ ।
मेचीनगरमा पुस १ गते सुरु भएको वडास्तरीय शिविर आज मेचीनगर वडा नं. १५ मा पुगेर सम्पन्न भएको छ । तीन वटै पक्षको बराबर साझेदारीमा कार्यक्रमका लागि रु. एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताउनुभयो ।
उहाँले अपांगता भएका व्यक्तिहरुका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका १०७ वटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र रु. चार करोड ५० लाख खर्च हुने जानकारी दिनुभयो ।
शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरी लगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताउनुभयो ।
“तीन वर्षसम्म त्रिपक्षीय लगानी साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो–“त्यसपछि यो कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण हुने सहमति छ । हस्तान्तरण भएपछि नगरपालिकाले आफ्नै लगानीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ ।”
चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचय पत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमा समेत गरिदिने यो अभियानलाई सिंहदरवार गाउँमा आएको अर्थमा नगरबासीले बुझिरहेको नगरप्रमुख गोपाल बुढाथोकी बताउनुहन्छ ।
पहिलो चरणमा वडाहरुमा स्वास्थ्य शिविर गरिएको र अर्को चरणमा अपांगता हुनै नदिन रोकथाम सम्बन्धी प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अपांगता भएका व्यक्तिहरुको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनु पर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
“अपांगता भएको व्यक्तिको पीडा कि स्वयम् व्यक्तिलाई थाहा हुन्छ, कि परिवारलाई,” अधिकारीले भन्नुभयो–“त्यही भएर पीडामा मल्हमपट्टि लगाउन नगरपालिकाले केही राम्रो सुरूवात गरेको छ ।”
मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरुले अपांगता पहिचान गरेको र नगरपालिकाले स्थलगत रुपमा शिविरमै परिचय पत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी रहेको सामाजिक अभियन्ता देबेन्द्र खरेल बताउनुहुन्छ । उहाँले गाउँहरुमा अपांगताको अवस्था दर्दनाक रहेको आफुले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको संख्या बढिरहेको बताउनुभयो ।
“नगरपालिकाले घरदैलोमा पुगेर अपांगता भएका व्यक्तिहरुको खोजपड्ताल गर्नु राम्रो कार्य हो,” उहाँले भन्नुभयो–“अभिभावकहरुलाई गर्भावस्थाको स्वास्थ्य हेरचाह सम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरु अपांगताको शिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।”