२० पुष २०८१, शनिवार

गुणस्तरीय एचआइभी सेवाका लागि निन्तरण पैरवी आवश्यक

१६ पुष २०८१, मङ्गलवार
Image

झापा, १६ पुस । एचआइभी संक्रमित र जोखिम समूहका लागि प्राप्त हुने सेवाहरु गुणस्तरीय बनाउनका लागि निरन्तर पैरवीको आवश्यक रहेको उक्त क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरुले बताएका छन् । 

समुदायको नेतृत्वमा अनुगमन कार्यक्रमको आज भएको टास्क टिमको वैठकमा झापा जिल्लाका फोकल पर्सन दिपक ढकालले कार्यक्रममा सहभागीहरु समक्ष मुख्य मुख्य समस्याहरु र तिनको प्रगतिको वारेमा जानकारी गराएका थिए ।

यस कार्यक्रम अन्तर्गत यौनकर्मी, लागुऔषध प्रयोगकर्ता, समलिङ्गी र एचआइभी संक्रमित गरी जम्मा १०५ जनासँग गरिएको सर्वेक्षणको नतिजामा यौनकर्मी महिलाहरु र समलिङ्गीहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नभई हेयभाव हुने गरेको तथ्य पाइएको छ । 

एचआइभी संक्रमितहरु नियमित औषधि खानु पर्ने भए पनि केही केही संक्रमित छुटेका र मौखिक प्रतिस्थापन उपचार प्रणाली पायक पर्ने स्थानमा नभएको जस्ता विषय मुख्य सवाल रहेको वताइएको थियो ।

सेवाग्राहीहरुवाट समेत विभिन्न सुधारका विषयहरु सर्वेक्षण मार्फत प्राप्त भएको जानकारी गराइएको थियो । लागु औषध प्रयोगकर्ताहरुका लागि दमक र विर्तमोडमा समेत स्याटेलाइट डिस्पेन्सिङ्ग यूनिट संचालन गरी सेवा दिइनु पर्ने, औषधि खानवाट छुटेका संक्रमितहरुको रोस्टर तयार गरी फ्लोअप गर्नुपर्ने, यौनकर्मी महिलाहरुका लागि प्याप स्मेयर परीक्षण गर्नुपर्ने लगायतका विषयहरु सर्वेक्षणवाट आएको जानकारी गराइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी फोकल पर्सन विरेन्द्र कुमार दासले श्रोतको उच्चतम प्रयोग गर्दै सेवा चुस्तदुरुस्त वनाउन चुनौति रहेकाले सबैले मिलेर चुनौतिको सामना गर्नुपर्ने वताए भने मेची प्रादेशिक अस्पतालका एआंरटी डाक्टर मनोज कुमार साहले हालसम्म गरिएका कार्यक्रमहरुले साना तथा महत्वपूर्ण सुधारहरु भएकाले निरन्तर पैरवीको कार्य गर्न जोड दिए । 

कार्यक्रममा रिचमण्ड फेलोसिप मोरङ्गका झापा परियोजना प्रमुख सोमराज ढकाल, एमआइएस अफिसर गोविन्द न्यौपाने, एएचएफका निकेश आचार्य, आम्दा नेपालका ववि दाहाल लगायतको उपस्थिति रहेको थियो ।