मेचीनगर, १६ पुस । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् ।
मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बनेको बताए ।
राज्यले प्रदान गर्ने सेवा सुविधा र आफ्नो हक अधिकार के भन्ने समेत धेरै अपाङ्गता भएका मानिसहरुलाई थाहा नभएको अवस्थामा यस शिविरले उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी गराउनुका साथै अपाङ्गता पहिचान गर्न सहयोग पुर्याएको उनको भनाइ छ । यसले अब अपाङ्गता भएका मानिस होस वा उनीहरुको परिवार सबैलाई राज्यले प्रदान गर्ने सेवा लिन मद्दत पुगेको बताए ।
अप्ठेरो जीवन विताइरहेकाहरुसँग सहकार्य गर्ने मौका मिलेको छ’, प्रमुख बुढाथोकीले–‘गरिवी, अभाव र समाजमा अपहेलित भएर बसेकाहरुलाई घृणा होइन, माया गर्नुपर्छ । अहिले राज्यले पनि उहाँहरुलाई खोज्न थालेको छ ।
कार्यक्रमको अध्यक्षता गरेकी उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्तो शिविर सञ्चालन गर्न चानचुने कुरा नभएको बताइन् । उनका अनुसार अभियान सफल भएको छ । दुई कार्यकालको अनुभव बटुलीरहेकी उनले लगभग ८ वर्षमा भौतिक पूर्वाधारको विकासमा धन्दा पनि अहिले मानविय सेवामा काम गर्न पाउदा खुशीबोध भएको बताइन् ।
नगरपालिकाले अब चाँडै कार्यविधि संशोधन गरेर चिल्लो बाटो बनाउनु भन्दा यस्ता मानविय सेवाको काममा बजेट राख्ने दावी गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सरकारले जनताको घरघरमा गएर यस्तो सेवा दिँदा सबैको सहयोग रहेकोले अभियान सफल भइरहेको बताए । उनले हाल शिविर मात्र सम्पन्न भएकोमा अब क्रमशः अन्य कार्यक्रमहरु पनि अघि बढ्ने जानकारी गराए ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।
पुस १ गतेदेखि वडा नम्बर १ देखि सुरु उक्त शिविर १५ गते वडा नम्बर १५ मा गरेर सम्पन्न भएको थियो । शिविरमा सहभागी नहुने छुटेकालाई मंगलबार नगरपालिकामा सेवा दिइएको थियो ।
आजसम्मको शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका छन् । मेचीनगर–१ देखि १५ नम्बर वडाका एक हजार ६२४ जनाले र आज नगरपालिकामा ४३ जनाले उक्त सेवा लिएका थिए ।
स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा एक हजार ४२५ जना अपाङ्गता भएका व्यक्ति सहभागी थिए । जसमा बालबालिका २३४, वयस्क ११९१, पुरुष ८३४, महिला ५९१ जना रहेका थिए ।
शिविरमा ८०१ जनालाई परिचय पत्र वितरण गरिएको थियो । जसमा ६७९ वटा नयाँ परिचय पत्र र १२२ वटा परिचय पत्र नविकरण गरिएको थियो ।
शिविरमा वितरण गरिएको १२७३ वटा कार्डमध्ये ३२५ जनालाई रातो कार्ड, ४७२ जनालाई निलो कार्ड, ४०८ जनालाई पहेँलो कार्ड र ६८ जनालाई सेतो कार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल लगायतले अभियान सफल भएको बताएका छन् । कार्यक्रम सफल पार्न खटिएका विशेषज्ञ डाक्टरसहितको ५६ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
नगरपालिकाकी महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन साझेदारी संस्था करूणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदम बराईलीले गरेका थिए ।