२० पुष २०८१, शनिवार

टिमाइको झोलुंगे पुलमा झुम्मिए पर्यटक

१८ पुष २०८१, बिहिवार
Image

झापा, १८ पुस । पुसको ठण्डी मौसमको पर्वाह नगरी बालबालिकादेखि ८० वर्षे उमेरका ज्येष्ठ नागरिकहरु झोलुंगे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हात हातमा रहेको मोवाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र भिडियो खिचिरहेका छन् ।

यो दृश्य बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलको हो । जहाँ झोलुंगे पुल हेर्न उद्घाटन अगावै पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुलमा मानिसहरु आउने गरेका छन् । 

बुद्धशान्ति वडा नं. ६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको ४७७ मिटर लामो डी आकारको झोलुंगे पुल कोशी प्रदेशकै लामो भएका कारण हेर्न, फोटो खिच्न र टिकटक बनाउन टाढादेखि पर्यटक आउन थालेका हुन् ।वडा नं. ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले पुलमा नसोचेको भीड लाग्न थालेको बताउनुभयो । मोटरसाइकल र कार लिएरै मानिसहरु पुल हेर्न आउने गरेको उहाँले बताउनुभयो ।

“वल्लो डाँडाबाट पल्लो डाँडासम्म फलामे लठ्ठामा अडिएको झोलुंगे पुल हेर्दै रमितलाग्दो हुँदोरहेछ,” वडाध्यक्ष भण्डारीले भन्नुभयो–“बर्ने, सुनमाई, चारआली र धुलाबारीको बाटो हुँदै पुल हेर्न आउने पर्यटक दिनहुँ बढिरहेका छन् ।” पर्यटकले यहाँ टिकटक बनाउने गरेका छन् ।

दैनिक चार सयदेखि आठ सय मानिस पुल हेर्न भनेरै आउँदा झोलुंगे पुल बनेको वारिपारिको क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ । स्थानीय बस्ती, सडक र पुलको छेउछाउ खाजा र नास्ता बिक्री गर्ने दर्जनौं साना होटल खुलेका छन् । चटपटे, पानीपुरी र मौसमी फलफुल बेच्ने अस्थायी पसल ह्वात्तै बढेको र स्थानीयबासीको आम्दानी समेत वृद्धि भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

संघीय सरकारको रु. पाँच करोड ९८ लाख ७६१ को लागतमा पुल निर्माण भएको हो । स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताले वि.सं. २०८३ जेठ २३ गतेसम्म निर्माण अवधि तोकिए तापनि थानी जगदम्बा जेभीले ठेक्का लिएको पाँच महिनामै झोलुंगे पुलको निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो ।

झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यही पुस २५ गते उक्त झोलुंगे पुलको विधिवत् उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो । शर्माले नै गत असार २४ गते पुलको शिलान्यास गर्नु भएको थियो ।

झापा र इलामको सीमामा रहेको टिमाई नदी गहिरो गल्छीका कारण पहिल्यैदेखि चर्चित छ । त्यहाँ पर्यटकीय आकर्षणका लागि बन्जी जम्प सञ्चालन हुनुपर्ने आवाज उठेको थियो । मानिसहरु बनभोज खान र नजिकैको पर्यटकीय क्षेत्र धारागोला र ठुटेबर घुम्न जाने गर्दथे । 

अहिले आँखाले भ्याएसम्मको लामो झोलुंगे पुलले पर्यटकहरुको ध्यान खिच्न सफल भएको छ । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ठाउँको नयाँ नामाकरण गरेर पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईले बताउनुभयो ।

“यति सजिलै, यति धेरै र यति छिटै पर्यटकको ओइरो लाग्ला भन्ने सोचिएको थिएन,” अध्यक्ष प्रसाईले भन्नुभयो–“अब पुलको नयाँ नाम दिनुपर्ने खाँचो छ । पार्कहरु बनाएर पर्यटकलाई समय बिताउने सुविधाजनक संरचना निर्माणमा हामी लागिरहेका छौं ।”

हाल पुलको नाम ‘कोलबुंगे गौडा रमिते गौडा झोलुंगे पुल’ रहेको छ । पुल बनाउनु अघि स्थानीय गाउँलेको भाषामा गौडा जोडेर परियोजनाको नाम जुराइएको थियो । तर, नाम लामो भएकाले पालिकाले नयाँ नाम दिन लागेको प्रसाईले बताउनुभयो ।

पुलको वडा नं. ७ तिरको किनारामा रु. चार करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित पार्कको निर्माण कार्य अघि बढाइएको छ । पालिकाको पहल र संघीय सरकारको बजेटमा उक्त पार्क निर्माण थालिएको र त्यसबाट पुल हेर्न र घुम्न आउने पर्यटकका लागि समय बिताउने रमणीय स्थान बन्ने उहाँको भनाई छ । 

पर्वतको कुश्मामा रहेको नेपालकै लामो झोलुंगे पुलमा झैं पर्यटकको आकर्षण बुद्धशान्तिको झोलुंगे पुलमा देखिएको छ । पुलको केही किलोमिटर वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडा लगायतको पहिल्यैदेखिका प्रख्यात पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक आगामी दिनमा झनै बढ्ने सम्भावना रहेको वडा नं. ६ का अध्यक्ष शिवराज पौडेल बताउनुहुन्छ ।

काठमाडौंको थानी / जगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुंगे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ । स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा पुलले एकपटकमा ६४७ जना पदयात्रीको भार थेग्ने क्षमता राख्ने उल्लेख छ ।

पर्यटकको अनियन्त्रित भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनु पर्ने आवाज उठ्न थालेको छ । पालिकाले पुलमा आउजाउ गर्ने पर्यटकको भीडको रेखदेख र अनुगमन गर्नका लागि सुरक्षागार्डको व्यवस्था मिलाउनु पर्ने झापाको कचनकबल–४ बाट पुल हेर्न आउनु भएकी १७ वर्षीया जसोदा राजबंशीले सुझाव दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।