झापा, १७ पुस । साझा मञ्च मिडिया प्रालिले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आज तीन जना सहकर्मीलाई ‘दशक सेवा सम्मान’ प्रदान गरेको छ ।
उक्त सम्मान पाउनेहरुमा शिवसताक्षीका सरोज भट्टराई, कमलका उमानाथ भण्डारी र भद्रपुरका द्रोण अधिकारी हुनुहुन्छ ।
साझा मञ्चले आज एक समारोहबीच स्थापनाको १२ औं वार्षिक मनाएको छ । एनएमसीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहनु भएको मञ्चका अध्यक्ष एवम् कोशी प्रदेशका उर्जा, खानेपानी तथा सिञ्चाई मन्त्री एकराज कार्कीले सम्मानित पत्रकारहरुलाई कदर पत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
विर्तामोडकी नगरप्रमुख पवित्रा महतरा प्रसाई, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी र महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने अतिथि वक्ता रहेको उक्त कार्यक्रमको अध्यक्षता साझा मञ्चका उपाध्यक्ष खड्गप्रसाद दाहालले गर्नु भएको थियो ।
स्वागत मन्तब्य मञ्चका सञ्चालक सदस्य एवम् नेकपा एमाले विर्तामोडका अध्यक्ष सुवास भट्टराईले गर्नु भएको थियो । कार्यक्रमको उद्घोषण साझा मञ्चका सम्पादक गोपाल काफ्लेले गर्नु भएको थियो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको विभिन्न तहमा नवनिर्वाचित पत्रकारहरुलाई स्वागत सम्मान गरिएको थियो ।