२१ पुष २०८१, आइतवार

विचार

सोचाइको स्रोत मन, बुद्धि कि विवेक ?

१८ पुष २०८१, बिहिवार
Image

शरीर विज्ञानभित्रको जिनेटिक इलिमेन्ट्स यति शक्तिशाली विकास हो, जसको प्रभाव पुस्तौंसम्म रहेको हुन्छ । ऋषि, महर्षी, विद्वान, विदुषी आदि वैज्ञानिकहरुले गरेको शुक्ष्म  अध्ययन, अनुसन्धानका आधारमा हरेक मान्छेलाई समाज विज्ञानका आधारभूत नियम, सीमा, मूल्य मान्यता र आचारसंहिताभित्र चल्नेगरी स्व–अध्ययन, स्व–ज्ञान, स्व–सचेतना र स्व–अनुशासन प्राप्त भएको हुन्छ । यो हरेक प्राणी जगतमा समेत लागू भएकै हुन्छ । कतिपय विद्वानहरुले यसलाई ब्रेनवेभको रुपमा व्याख्या गरेको पाइन्छ ।

मष्तिष्क हामी हरेकसँग छ र यो मान्छेको अन्तर्य हो । शारीरिक सुगठन बाह्यपक्ष हो । मष्तिष्कभित्र विचारयोग, कर्मयोग र उत्तेजकयोगको समेत बासस्थान छ । यसको कनेक्सन मन, वुद्धि र विवेकसँग छ । समाजमा साह्रै थोरै मान्छेहरु मात्रै आफ्नो मगज (माथा)लाई विवेकसँग जोड्ने गर्दछन् । अधिकांश मान्छेहरुले वुद्धिसम्म जोडिएको व्यवहार देखाउँछन् । 

मान्छेको ठूलो हिस्सा मनसँग मात्र जोडिएको हुन्छ र मनको फैसलाको पालनकर्ता भएका छन्, जसको प्रभाव मष्तिष्कको उत्तेजक भागसंग जोडिएको हुन्छ । बुद्धि भनेको पनि मनभित्र उब्जिने अनन्त सोचाइको फिल्टरेड पार्ट मात्र हो अर्थात मनभन्दा एक तह प्रगतिशील आशन हो । 

बुद्धिरुपी आशनमा पनि हरेक बस्तु र घटनाहरुको विश्लेषण मात्र हुन्छ तर पनि कर्मको आशन चाहिँ हो । विवेक भनेको मन र बुद्धिको सर्वोच्च आशन हो, शीर्ष आशन हो । बुद्धिले विश्लेषण (फिल्टर) गरी पठाएका विचारहरुको संग्रहालय हो र विवेकले नै विचारहरुको संश्लेषण गर्दछ । विवेकसँग सोचको अन्तरसंवाद गर्ने मान्छे विवेकी हुन्छ । 

हरेक मान्छेका सोचाइलाई मनले उत्तेजनामै फसाउँछ, बुद्धिले कर्ममा पसाउँछ र विवेकले विचारमा पुर्याउँछ । सोचका ३ वटा तहका विशेषता छुट्याउन सकिन्छ । तन्नम सोच भएका मान्छेहरुले मान्छेको कुरा गरेर मनसँग मात्र जोडिन्छन्, मध्यम सोच भएका मान्छेहरु कर्मको कुरा गरेर कमसेकम बुद्धिसँग जोडिन्छन् भने उत्तम सोच भएका मान्छेहरु विचारको कुरा गर्छन् र विवेक आश्रममा हुन्छन् । 

यो तीन प्रकारको शक्ति स्वयम् मसँग, तपाइँसँग र हामी सबैसँग छ । आशन आँफैंले रोज्ने हो, अरुले खोजेर हुँदैन । सधैं सकारात्मक सोचौं त्यो नै विवेकको आश्रम हो । नयाँ वर्षले यो ऊर्जा हामी सबैमा प्राप्त होस्, हार्दिक शुभकामना । 

लेखकको बारेमा
Image
प्रेम गिरी

(लेखक नेकपा एमाले झापाका अध्यक्ष हुनुहुन्छ ।)