झापा, १८ पुस । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटक बढेका छन् । यस नाकाबाट प्रवेश गर्ने पर्यटकमा भूटानीको संख्या आधाभन्दा बढी छ ।
अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजबंशीले सन् २०२४ को अवधिमा छ हजार १०१ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको बताउनुभयो ।
सन् २०२३ मा तीन हजार १२५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । गत वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार ९७६ जनाले बढोत्तरी भएको छ ।
कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीटंकीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन ।
भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन् । सन् २०२४ को अगस्ट १ तारिखबाट मात्र भारतले पानीटंकी नाका पर्यटकका लागि खुला गरेको थियो ।
पानीटंकी नाका खुला हुनासाथ नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) कोशी प्रदेश समितिका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठ बताउनुहुन्छ ।
“कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोवार खुला भए तापनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो,” श्रेष्ठ भन्नुहुन्छ–“उच्चस्तरीय पहलपछि अगस्तमा मात्र भारतले पर्यटकलाई आउजाउ गर्न अनुमति दियो । त्यसपछि बल्ल पर्यटकीय आगमन पुरानो लयमा फर्कियो ।”
पूर्वीनाकाबाट केही वर्ष अघिसम्म बंगलादेशी पर्यटक आगमनको संख्या उच्च थियो । अहिले भूटानी पर्यटक ह्वात्तै बढेको छ ।
सन् २०२४ मा काँकडभिट्टाबाट स्थलमार्ग हुँदै चार हजार ९१६ जना भूटानी पर्यटक नेपाल आएको अध्यागमन कार्यालयका सूचना अधिकारी राजबंशीले बताउनुभयो ।
उहाँका अनुसार सन् २०२३ मा यही स्थलमार्ग भएर नेपाल प्रवेश गरेका भूटानीहरुको संख्या दुई हजार ९३१ मात्र थियो । उक्त वर्ष १७ जना मात्र बंगलादेशी पर्यटक यस नाकाबाट नेपाल प्रवेश गरेका थिए ।
स्थलमार्ग भएर बंगलादेशी पर्यटकहरुको नेपाल आगमन अझै सन्तोषजनक छैन । सन् २०२४ मा ३६ जना बंगलादेशी काँकडभिट्टा हुँदै नेपाल आएका थिए ।
नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने गरेको छ । शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भूटानीहरु बढी संख्यामा आउने गरेका हुन् ।