२२ पुष २०८१, सोमवार

‘झापामा बिजुली निकाल्छौं भन्दा सुरुमा कसैले पत्याएनन्’

१९ पुष २०८१, शुक्रवार
Image

झापा, १९ पुस । झापामा पहिलोपटक विद्युत उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको स्थापनाकालमा लगानीकर्ता जुटाउन निकै कठिन परेको अगुवा सञ्चालकहरुले बताउनु भएको छ ।

कम्पनीको आज विर्तामोडमा सम्पन्न छैठौं वार्षिक साधारण सभामा अध्यक्ष एलपी साँवा लगायतले स्थापनाकालीन संघर्षका रोचक क्षणहरु सुनाउनुभयो ।

अध्यक्ष साँवाले झापामा विद्युत उत्पादन गरेर मुलुकको समृद्धिमा योगदान दिनुपर्छ भन्दा मानिसहरुले सुरुमा नपत्याएको बताउनुभयो ।

स्थापना लगत्तै कोरोना महामारी भित्रिएकाले लगानीको गुञ्जायस झण्डै झण्डै समाप्त भएका बेला पनि आफुले संयमपूर्वक लगानीका लागि प्रोत्साहित गरेको उहाँले बताउनुभयो ।

समृद्धिका लागि झापामा झापालीहरुले नै केही गरौं भन्ने परिकल्पनाका साथ झापामा के परियोजना सञ्चालन गर्न सकिन्छ भनेर हिकोला हेरिटेजमा सानो घेरामा बैठक बस्दा विद्युत उत्पादन गर्ने सल्लाह भएको उहाँले सुनाउनु भयो ।

जलविद्युतको सम्भावना नभएकाले सौर्य विद्युत उत्पादनको प्रस्ताव गर्दै परियोजनाका सक्रिय पहलकर्तामध्येका स्व. ज्ञानुराम प्रसाईकै घरमा कार्यालय सञ्चालन गरिएको साँवाले स्मरण गर्नुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवम् सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले झापा इनर्जीको प्रस्ताव पहिलोपल्ट अघि सार्दा परिकल्पनाकार एलपी साँवाको कुरा लगानीकर्ताले विश्वास गर्न नसकेको बताउनुभयो ।

“साँवा पार्टीको नेता र सांसद् हुनुहुन्थ्यो,” गिरीले सुनाउनुभयो–“मानिसहरुले झापा इनर्जीलाई पार्टीकै भ्रातृ संगठन ठानेका थिए । विस्तारै विस्तारै यसप्रति विश्वास बढेर गएको हो ।”

झापामा लगानीकर्ताको अभाव नभएको जिकीर गर्दै उहाँले इस्टर्न सहाराले विगत तीन महिनामा रु. एक अर्ब लगानी जुटाउन सफल भएको दृष्टान्त सुनाउनु भयो ।

झापा इनर्जी लिमिटेडका सञ्चालक तथा एनएमसी सहकारीका पूर्व अध्यक्ष रामचन्द्र उप्रेतीले परिकल्पनाकार साँवा राजनीति मात्र नभएर व्यवसाय बुझेको नेता भएकाले झापा इनर्जीको सपना आज साकार बन्दै गएको बताउनुभयो ।

झापामा विद्युत निकाल्ने र त्यो पनि सौर्य प्यानलबाट भन्दा सुरुमा मानिसहरुले ठट्टाको रुपमा लिएको जनाउँदै उहाँले साँवाको दृढ र सफल नेतृत्वका कारण परियोजना सफल बनेको बताउनुभयो ।

छ वर्ष अघि झापाका व्यवसायी, नेता, जनप्रतिनिधि र प्रवासी झापालीबाट थोरै थोरै पूँजी जम्मा गरी सुरु गरिएको झापा इनजी लिमिटेड आज कोशी प्रदेशको सबैभन्दा धेरै सौर्य विद्युत उत्पादन गर्ने कम्पनी बन्न सफल भएको छ ।

२०८० माघ १० गतेदेखि विद्युत उत्पादन थालेको परियोजनाको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो भने शिलान्यास संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नु भएको थियो ।

परियोजनाबाट विद्युत उत्पादन सुरु भएको ११ महिना बितिसकेको छ । शिवसताक्षीको वडा नं. ४ सालमारामा २२ बिगाहा जग्गामा परियोजना सञ्चालित छ । नजिकैको बोलो चोकमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा झापा इनजीले उत्पादन गरेको बिजुली राष्ट्रि«य प्रसारण लाइनमा जोडिएको छ ।

आज आयोजित साधारणसभामा अध्यक्ष साँवाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्वमन्त्री झलकसिंह दर्लामी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक रामचन्द्र उप्रेतीले र सञ्चालन प्रबन्ध निर्देशक सुवास भट्टराईले गर्नु भएको थियो । कम्पनीका सचिव सरोज श्रेष्ठले कम्पनीको आयव्यय विवरण बारे सो अवसरमा प्रस्ट पार्नु भएको थियो ।