झापा, २१ पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का संघीय सांसद् विश्वप्रकाश शर्माले चौरासीको चुनावमा प्रत्यक्षतर्फ उम्मेद्वार हुने निश्चित नरहेको बताउनुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं. १ ले आज गृहनगर मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
गत आम चुनावमा संघीय सांसद् पदको प्रत्यक्ष सिटमा उम्मेद्वार बनेर बिजयी बन्नु भएको उहाँले आगामी चुनावमा समानुपातिक सिटतर्फ सांसद्को उम्मेद्वार बन्ने हो कि भन्ने विषयमा पनि स्पष्ट बताउनु भएन ।
“मेची महाकाली खट्नुपर्ने भयो भने यहाँ (झापा क्षेत्र नं. १) अर्कै उम्मेद्वार हुनसक्छ,” उहाँले भन्नुभयो–“एउटै व्यक्ति पटकपटक झापा–१ मा खडा हुँदैन ।”
पार्टीले चौरासीको समग्र चुनाव हाँक्ने गरी महत्त्वपूर्ण जिम्मेवारी दियो भने आफु देशभरि जिताउन हिँड्नु पर्ने भएकाले सांसद्को प्रत्यक्ष उम्मेद्वार बन्ने विषय प्राथमिकतामा नपर्ने उहाँले बताउनुभयो ।
उहाँले आगामी महाधिवेशनमा पार्टीको पदाधिकारी पदमा एक कदम अगाडि बढ्ने संकेत गर्दै भन्नुभयो– “पार्टीको सभापतिको दावेदार होइन, पदाधिकारी जानु पर्ने हुनसक्छ ।”
उहाँले चौरासीको चुनाव जित्ने गरी जनतासँग भिज्न र पार्टी संगठनलाई चलायमान बनाउन आग्रह गर्नुभयो ।
पार्टी काममा नखटिने र नेताको वरिपरि घुमेर समय बिताउनेहरुले चौरासीको चुनावमा कुनै तहको पनि उम्मेद्वार बन्न नपाउने जनाउँदै उहाँले झापा–१ को विकास निर्माणमा संघीय सांसद्को रुपमा आफुले लडेर ल्याएको महत्त्वपूर्ण उपलब्धिहरुको प्रचार हुन नसकेको गुनासो गर्नुभयो ।
उहाँले चौरासी सालमा कांग्रेस एक्लै चुनावमा होमिने बताउनु भएको छ । उहाँको भनाई थियो–“म यति चाहिँ ढुक्कले भन्न सक्छु कि चौरासीको चुनावमा नेपाली कांग्रेसका मतदाताले रुखबाहेक अरु चुनाव चिह्नमा भोट हाल्नु पर्दैन ।”
क्षेत्रीय सभापति इन्द्र बुढाथोकीको अध्यक्षतामा भएको भेलामा क्षेत्रीय उपसभापति सन्तोष न्यौपानेले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, झापा सभापति देउमान थेबे, पूर्व उपसभापति राम कट्टेल, पूर्व नगरप्रमुख विमल आचार्य र महासमिति सदस्य शोभा श्रेष्ठले मन्तब्य राख्नु भएको थियो ।